बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रम शुभारम्भ

बुधबार, चैत्र १३ २०७५

काठमडौं चैत, १३–
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौं र समुदाय प्रहरी साझेदारी जिल्ला समिति काठमाडौंद्वारा काठमाडौं महानगरपालिका वसन्तपुर डवलीमा बुधबार संयुक्त रुपमा आयोजित समारोहबीच वृहत घरदैलो कार्यक्रम  शुभारम्भ भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले वसन्तपुर डवलीस्थित दिनेशमान जोशीको घरमा समुदाय प्रहरी साझेदारी सम्बन्धि स्टिकर टाँसेर उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । साथै उनले सचेतनामूलक स्टिकर उपलव्ध गराउने जनता बैंक, एभरेष्ट बैंक लगायतका संस्थाका प्रतिनिधिलाई प्रशंसापत्र समेत वितरण गरे । 
उक्त अवसरमा उनले समुदाय प्रहरी साझेदारी अन्तर्गत नयाँ ढंग र उत्साहकासाथ प्रभावकारी रुपमा कार्यक्रमलाई अगाडि लैजाने बताउँदै समुदायले प्रहरीसँग समन्वय गरी सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सूचना लुकाएर राख्दा समाजमा नकारात्मक असर पर्न सक्ने भएकाले समयमै प्रहरीलाई सूचना दिन सजिलोका लागि कार्यक्रम ल्याइएको उनले उल्लेख गरे  । प्रत्येक घरधनीले घर वहालमा बस्नेहरूको विवरण उपलव्ध गराएमा अकल्पनीय घटना हुनबाट बचाउन सकिने उनको  भनाइ थियो ।
सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई जनताले महत्वपूर्ण सूचना दिएर सहयोग गरेमा नसोचेका घटनालाई रोकथाम गर्न र शान्ति सुरक्षा कायम गर्न तथा अपराध रहित समाज निर्माण गर्न सजिलो हुने उल्लेख गरे । समाज जति शिक्षित हुँदै जान्छ त्यति नै सूचनाको महत्व पनि बढ्दै जाने उहाँले बताए । 
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले  कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुमधुर सम्बन्ध बनाउदै लैजानुपर्ने बताए । समाज थप सुरक्षित बनाउन घरदैलो कार्यक्रम प्रभावकारी हुने  उनले  विश्वास व्यक्त गरे । 
घरदैलो कार्यक्रम मुल व्यवस्थापन समितिका संयोजक नरेन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दरराज वैद्य, काठमाडौं महानगरपालिका १८ वडाका अध्यक्ष न्हुच्छेकाजी महर्जनले समेत मन्तव्य व्यक्त गरेका थिए ।