राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध तीन वटा विषयमा अभियोजन दर्ता हुँदैछ । अब यहाँबाट उनको आपराधिक पतको श्रीगणेश हुने अनुमान गरिन्छ । यद्यपि यो विषय अदालतमा पुगेपछि त्यसको आदेशका आधारमा मात्र तय हुनेछ । सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान सकेको प्रहरीको रायका आधारमा मुद्दा चलाइनेछ । यी तीन मध्य सबैभन्दा बलियो अभियोजन सम्पत्ति शुद्धिकरणको हुन सक्ने सम्भावना रहेको छ । यसैगरी संगठीत अपराधको विषय पनि गम्भीर छ । सहकारी ठगीमा रवि आफैं शेयर सदस्य नभएको दाबी गरिरहेका छन् । कुनै पनि सहकारीमा उनी सदस्य, सञ्चालक नरहेको भन्ने संसदीय विशेष समितिले पनि बताएको थियो । तर त्यहि समितिले सहकारीको रकम अपचलनमा भने रविविरुद्ध कारबाहीका लागि सुझाव पनि दिएको थियो।
अहिले भएको अनुसन्धानले रविविरुद्ध सहकारी ठगीमा बलियो मुद्दा बन्ने प्रतिवेदन तयार नभए पनि संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा भने कठोर सजायको माग हुन सक्छ । रवि लामिछाने सञ्चालक रहेको गोरखा मिडिया प्रालिबाट उनको हस्ताक्षरमा रकमान्तर भएको, चेक काटिएको भेटिएको छ । यसकारण उनलाई सम्पत्ति शुद्धिकरण कानुनको ‘कुनै पनि व्यक्ति वा संस्थाले अवैध गतिविधिबाट आर्जित सम्पत्ति बैंकिङ प्रणाली वा अन्य आर्थिक क्रियाकलापमा प्रयोग गरी वैध बनाउन खोजेको पाइएमा यस ऐन अन्तर्गत कारबाही हुन्छ’ भन्ने कानुनी आधारलाई टेक्न सक्नेछ । गोरखा मिडियाका सञ्चालक मध्यका एक रहेका कारण रविमाथि यो कानुन आकर्षित हुने जानकारहरू बताउँछन् । यसबाहेक संगठीत अपराधमा उनको भूमिका प्रत्यक्ष नभए पनि परोक्ष (मतियार)का रुपमा पनि उल्लेख गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयहरूमा प्रहरीले बुझाउन सक्नेछ । खासगरी जिल्ला सरकारी वकिलको कार्यालय कास्की, रुपन्देही, काठमाडौं, चितवन र पर्सा प्रहरीले यस्तो प्रतिवेदन बुझाउन सक्नेछ । यहि प्रकृतिका अभियोजन पूर्वडीआईजी छविलाल जोशीलाई पनि लगाइनेछ भने यसअघि कुमार रम्तेललगायतलाई अदालतलको पूर्पक्षका लागि थुनामा पठाइसकेको छ।
जसले जे भने पनि यस प्रकरणमा रवि उम्किए भने अन्य राजनीतिक दलको साख ध्वस्त हुनेछ भने रास्वपाको कद बढ्नेछ । राज्यको शक्ति र प्रमाणका थाक जुटाएर रविको अराजक गतिविधिलाई राज्यले रोक्ने नै प्रयास गर्छ । यदि एउटा अदालतले उनलाई छाडे पनि अर्काले छाड्ने छैन किनभने मुद्दा नै सोही प्रकारले बढीरहेको छ । सबैले रविको मुद्दालाई हेरिरहेका छन्।