काठमाडौं चैत, ११–
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीविरुद्ध सरकारले लगाएको प्रतिबन्ध र धरपकडको संकट एकातिर रहेका बेला संगठनात्मक विवाद पनि चरम उत्कर्षमा पुगेको छ ।
शीर्ष मध्येका हेमन्तप्रकाश ओलीसहित नौ जना पक्राउ भएपछि धक्का लागेको उक्त समूहको आन्तरिक कलका कारण संगठनमा पहिरो नै गएको छ । विप्लव र उक्त पार्टीका प्रभावशाली मानिएका तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच चुलिएको विवादका कारण संकट बढेको बताइएको छ
विप्लवको उदारतालाई प्रकाण्डले आफ्नो स्वार्थमा प्रयोग गरेपछि नेकपाभित्र विवाद उत्पन्न भएको थियो । शुरुवाती दिनमा पार्टीभित्र र जनवर्गीय संगठनहरूमा हाबी देखिएका प्रकाण्डलाई अहिले विप्लवले निरिह पारेका छन् ।
प्रकाण्डको शंकास्पद गतिविधिबाट आजित बनेका उनी पक्षधर नेताहरूले समेत क्रमशः साथ छाड्न थालेका छन् । दाङ र कपिलवस्तु आसपासमा बसेको स्थायी समितिमा पनि प्रकाण्डको शंकास्पद गतिविधिलाई लिएर ठूलो बहस भएको थियो ।
पाँच सदस्यीय स्थायी समितिमा प्रकाण्डलाई सन्तोष बुढाले मात्रै साथ दिएका छन् । अनिल शर्मा र धर्मेन्द्र बास्तोला विप्लवसँग छन् । ठूला उद्योगी, व्यापारी, शिक्षक, कलेज, विद्यालय, एनसेल आदिबाट जबरजस्ती उठाएको चन्दाको रकममा हिनामिना भएको भन्दै विवाद चुलिएको स्रोतको दाबी छ ।
नेपाल बन्द र एनसेलमा भएको बम विष्फोटको जिम्मेवारी लिने क्रममा ‘विप्लव’ आफूले विज्ञप्ति जारी गरेका थिए । यसअघि सधै प्रवक्ताको रुपमा ‘प्रकाण्ड’ले विज्ञप्ति निकाल्ने गर्थे । पछिल्ला समयमा पार्टीका आधिकारिक जानकारी दिनका लागि पनि ओलीलगायतका नेता अगाडि सारिएको थियो ।
विप्लवले तत्कालीन आयोग्य लडाकुहरूलाई समेटेर गाउँमा धमाधम जनसेना बनाएका छन् । जनसेनालाई तालिम दिने, हतियार दिने र कार्यक्षेत्रमा खटाउने कार्यको स्वयं ‘विप्लव’को निर्देशनमा हुने गरेको एक नेताले बताए ।
संगठन कमजोर
सरकारले धरपकड गरी उच्च तहका नेतालाई पक्राउ गर्न थालेपछि कतिपय कार्यकर्ता भने ग्राउन्डेड भएका छन् । उपत्यका र जिल्लामा रहेका कतिपय कार्यकर्ता भूमिगत भएका छन् । उनीहरूको सम्पर्क नम्बर बन्द छन् भने जनसम्पर्क पनि हुन छाडेको छ ।
‘चारैतिर प्रहरीले खोजी गर्न थालेपछि भूमिगत हुन परेको छ’, ललितपुरका एक नेताले भने,‘हामी यो सरकारविरुद्धको अभियानमा सक्रियताका साथ लाग्ने अठोटमा हिँडेका छौं ।’
त्यसो त युवा र विद्यार्थीका प्रभावशाली नेतासमेत प्रहरीको लिस्टमा समावेश भएका छन् । कतिपय सञ्चार क्षेत्रमा रहेकालाई पनि सरकारले बन्दी बनाउन थालेको छ ।
सुरक्षा स्रोतले भन्यो, ‘सरकारको आदेशअनुसार हामीले काम गरिरहेका छौं । यो समूहको हिंसात्मक गतिविधि गर्ने प्राविधिक टोली पहिलो निशानामा थियो । केही हदसम्म सफलता मिलेको छ । हामी अझै अनुसन्धानका क्रममा छौं ।’
पहिलेको शंका, अहिले थप रहस्य
खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई यसअघि नै प्रहरीले पक्राउ गरी विभिन्न जिल्लामा मुद्दा दायर गरेको थियो । विश्वकर्मालाई एउटा जिल्लाको अदालतले रिहा गर्नेबित्तिकै पक्राउ गरी अर्को जिल्लाको अदालतमा हाजिर गराउँदै उनलाई तीन महिनासम्म रिंग्याइयो । तीन महिनामा खड्क पनि गले । प्रहरी पनि आजित नै भयो । आखिर यस्तो किन गरियो त खड्ककै हकमा ? यो प्रश्न निकै रहस्यमय थियो । जानकार स्रोत भन्छ, ‘प्रकाण्डले संकलन गरेको रकम पार्टी हाइ कमाण्डमा बुझाएनन् । हाइकमाण्डले सरकारी संयन्त्र प्रयोग गरेर प्रकाण्डलाई सजाय दिएको हो ।’
स्रोतले हाइकाण्ड भनेको विप्लव स्वयंलाई थियो । विप्लवले सरकारी संयन्त्र प्रयोग गरेर भन्नुको अर्थ सरकारमा रहेका आफ्ना पूर्वसहयोद्धाहरु प्रयोग गरेर उनलाई ‘टर्चर’ दिइयो । यति गर्दा पनि प्रकाण्डले उठाएको रकम पार्टीलाई बुझाइसकेको खबर भने छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि हालतमा विप्लवलाई क्षमा दिने, राजनीतिक आवरण भिराउने, सिके राउतसँग झै हठात सम्झौता गर्ने पक्षमा पनि छैनन् । प्रचण्ड पनि विप्लवप्रति नरम छैनन् । उनले विप्लव समूहलाई गलपासो नै मानेका छन् । जसरी ओलीले सिकेलाई ठान्ने गर्थे । तर अहिले प्रचण्ड दमनबाटै विप्लव समूहलाई तह लगाउन सकिन्छ भन्ने मनस्थितिमा छन् । आजको अमृतबाजार साप्ताहिकमा खबर छ ।