मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

कांग्रेसको आन्तरिक राजनीति

सोमबार, मंसिर २४ २०८१

नेपाली कांग्रेसभित्रको आन्तरिक समूहगत राजनीतिको पटाक्षेप कोशी प्रदेश सम्मेलनमा देखिएको छ। बिराटनगरमा भएका अलग समूह भेला र सम्मेलन यसका प्रमाण हुन्। सभापति शेरबहादुर देउवालगायतका नेता सहभागी भएर आधिकारिक रुपमा सम्मेलन गरेका थिए भने नेता शेखर कोइरालाले पालिका सभापतिको अलग भेला गरेका थिए।

नेपाली कांग्रेसले आधिकारिक रुपमा बिराटनगरमा कुनै पालिका सभापतिहरूको भेला नडाकेको पत्र जारी गर्दा पनि डा. शेखर कोइराला समूहले ११३ जना सहभागी भएको दाबीसहित मिनि सम्मेलन गरेको जनाएको छ। आगामी महाधिवेशन समयमा हुन नसक्ने सम्भावना देखेपछि सभापति शेरबहादुर देउवा र संस्थापन पक्षलाई दबाबमा राख्नका लागि उक्त भेला गरेको जनाइएको छ। यसै साता कोइरालाले बिराटनगरमा भेला आह्वान गरेको र केन्द्रको पत्र पुगे पनि त्यसलाई नरोकेको जिकिर गरिएको थियो। मुख्य ध्यान महाधिवेशन हो। जसरी केन्द्रीय समिति र महासमितिको बैठकका लागि दबाब दिनु परेको थियो अब महाधिवेशनलाई तोकेको समयमा गराउनका लागि सबै लाग्नुपर्ने सहमति बनेको छ। यसअघि १४औं महाधिवेशन पनि समयमा नभएका कारण विभिन्न कोणबाट दबाब दिनु परेको थियो। तर, सभापति देउवाले एक बर्ष लम्ब्याएरै छाडेका थिए। पार्टीको हितमा आवाज उठाइएकाले नेताहरू भेलामा आएको कोइराला पक्षको दाबी छ। भेलामा आएकाहरूलाई डा. शेखरले महाधिवेशनमा समयमै गर्न दबाब सिर्जना गरिनुपर्ने बताएका थिए। दोस्रो पटक सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको कार्यकाल तीन वर्ष पूरा भएको छ। विधान अनुसार वर्तमान कार्यसमितिको अवधि एक वर्ष बाँकी छ। विशेष परिस्थिति सिर्जना हुँदा मात्र थप एक वर्ष कार्यकाल लम्ब्याउन सकिने सुविधा पार्टीको विधानले दिएको छ। देउवाले आफू छाड्ने र पत्नी तथा केन्द्रीय सदस्य समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणाको राजनीतिलाई कसिलो बनाउनचाहिँ कसरत गर्न सक्ने बताइएको छ। कतिपयले सभापतिको तयारी गरिरहेका महामन्त्री गगन थापालाई अगाडि सारेर देउवाले राणाको राजनीतिक भविष्य सुरक्षित बनाउन खोजिरहेको अड्कल काट्छन्। यो अड्कलबाजीलाई सुविधा मिल्ने गतिविधि पनि नदेखिएका होइनन्। किनभने सत्ता समीकरणमा बीआरआईलगायतको अध्ययन होस् वा विभिन्न समितिमा थापालाई देउवाले अगाडि बढाइरहेका छन्। सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्नका लागि मात्र होइन, सहकारी बारेको विषयमा पनि देउवाले थापाको प्रशंशा गरेका थिए। तर, कोइरालाकै भेलाका कारणचाहिँ उनी दबाबमा पर्न सक्ने सम्भावना नरहने पनि संश्लेषण गरिएको छ। यद्यपि पार्टीका कतिपय कार्यक्रममा प्रमुख अतिथि भएर पुग्ने गरेका सभापति देउवाले महाधिवेशन समयमा नै हुने र विधि नमिचिने पनि बताउँदै आइरहेका छन्।

जे होस् कोशीबाट केही न केही रुपमा कांग्रेसभित्रको आन्तरिक समूहगत राजनीतिको तनाव बाहिर देखिएको छ। तर, एकअर्काबीच निषेध भन्दा पनि प्रजातान्त्रिक मुल्य मान्यतामा नै उक्त पार्टीको राजनीति चलिरहेको सन्देश पनि बुझ्न सकिन्छ।