मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

‘एक साताभित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी’

आइतबार, मंसिर २३ २०८१

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक साताभित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा शनिबार यहाँ आयोजित ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले काम सम्पन्न गरेर भुक्तानी लिन बाँकी रहेका मन्त्रालय र अन्य निकायमा ढिलोमा एक सातामा भुक्तानी उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

निर्माण व्यवसायीलाई ऋण भुक्तानीका लागि म्याद थप गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गरेर उचित निकास निकाल्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले बैंकको ऋण तिर्नुपर्ने म्याद यही मङ्सिर मसान्तसम्म रहेको जानकारी दिए । उनले सबैको साझा लक्ष्य विकास निर्माण भएकाले सरकारले निर्माण क्षेत्रलाई सधैँ प्राथमिकतामा राख्ने बताए ।

बजेटमा सूचीकृत रहेका १७ हजार योजना कार्यान्वयन गर्नुपर्ने जानकारी दिँदै अर्थमन्त्री पौडेलले भने, “चालु आर्थिक वर्षको बजेटमा रु ७५ हजारका परियोजना छन् । सङ्घले यति सानो परियोजना कार्यान्वयन गर्ने भएपछि स्थानीय तह र प्रदेश सरकारले कस्तो परियोजना बनाउने ? बजेटका कारण पनि धेरै काम गर्न सकिएको छैन ।”

अर्थमन्त्री पौडेलले आधार नै नभएका आयोजनाहरू पनि हजारौँ रहेको जानकारी दिँदै पूर्वाधार निर्माणका लागि ऋण लिनुपर्ने अवस्था रहेकाले यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।