काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सवाल जवाफ र घोचपेच भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरेक साता आफ्ना दलका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने प्रस्ताव पठाइरहेको थापाको भनाई थियो।
प्रतिनिधि सभाको यो अन्तिम विकल्पमा बनेको कांग्रेस–एमाले सत्ता गठबन्धन भत्काउनका लागि प्रचण्ड आन्तरिक प्रयासमा छन्। र, विकल्पको गठबन्धनका निम्ति कांग्रेस अपरिहार्य शक्ति हो।
आफूलाई सत्ताच्युत गरेका नेकपा एमालेका अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शक्तिबाट ओराल्नु छ। अर्थात् ओलीलाई २ बर्षको प्रधानमन्त्रीत्वको जिम्मेवारीबाट असमयमा नै निकाल्नु प्रचण्डको योजना हो। यसैले उनले भूराजनीतिक प्रभाव पार्नका लागि पनि भारतीय पक्ष रिझाउनका लागि सक्रिय छन्।
अहिलेको सत्ता समीकरण बदल्नका लागि सदनको पहिलो दल कांग्रेसको संख्या निर्विकल्प हुन्छ। माओवादीलाई सत्तामा पुग्न अथवा एमालेलाई सरकारबाट ओराल्नका लागि कांग्रेसको विकल्प नहुने भएकाले प्रचण्डले देउवाको आलोचना नगरेका हुन्।
यसअघि पनि ओलीको सरकार गिराउनका लागि देउवाको सहयोग प्रचण्डका लागि ‘राजनीतिक जित’ सरह थियो। नेकपा विभाजन भएपछि ओलीलाई सत्ताच्युत गर्नका निम्ति प्रचण्डको कसरत देउवालाई प्रधानमन्त्री बनाएर मात्र सफल भएको थियो।
देउवालाई अबको १८ महिनापछि प्रधानमन्त्री बन्ने भन्दा पनि अहिले नै त्यस कुर्सीमा राखिदिन पाए आफू शक्तिमा चढ्न सक्ने प्रचण्डको विश्लेषण छ।
तर यहि विन्दुमा आएर प्रचण्डले महामन्त्री थापाको उक्त भनाईलाई खण्डन गरी घोचपेचसहितको जवाफ दिए। प्रचण्डले प्रधानमन्त्री बन्नका लागि प्रस्ताव गरेको भन्ने महामन्त्री गगन थापाको टिप्पणीमा प्रत्युत्तर आएको हो।
माओवादी अध्यक्ष प्रचण्डले थापाको उक्त भनाईको खण्डन गरेका हुन्। खुमलटारमा शनिबार प्रचण्डले थापाको भनाईलाई सफेद झूठ भनेका हुन्। किर्तिपुरको उपनिर्वाचनको चुनावी प्रचारको अन्तिम सभामा थापाले त्यस्तो बताएका थिए।
त्यसको उत्तरमा प्रचण्ड भन्छन्,‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन। यो भन्दा सफेद झुट अरु केही हुनै सक्दैन। मैले त अहिले बोल्न पनि चाहिरहेको थिइनँ, यो विषयमा।’
गगन थापालाई एउटा युवा नेताको रुपमा संवाद, सहकार्य हुने गरेको स्मरण गरेका प्रचण्ड जोड्छन्,‘अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ। कति तल कति छिटो झर्न सकेको हो।’
राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्नसक्ने भएको देख्दा दया लागेको उनको भनाइ छ। देउवालाई बरु आफूले ०८४ सम्म तपाईहरु नै मिलेर सरकार चलाउनुस् भनेर सुझाव दिएको प्रचण्डले बताए।