बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रवि लामिछाने र मूलधारका मिडिया

सोमबार, मंसिर १७ २०८१

आइतबारसम्म रवि लामिछानेलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराइयो। उनीमाथिको निरन्तर बयानका समाचार मूलधारका मिडियामा आएका छन्। कतिपयले पेलेका पनि छन्। आफू उपप्रधान तथा गृहमन्त्री रहँदा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेका लामिछानेविरुद्ध उसका आफ्ना केही मिश्रित स्वार्थ हुन सक्लान्। तर, सबै नै ठूला भनिएका मिडिया किन लामिछानेप्रति सकारात्मक धारणा बनाउन सकिरहेका छैनन्? कुनै अन्तरवार्तामा जगदीश खरेलले रवि लामिछानेप्रति संकेत गरेर भनेको हेरेको थिएँ,‘माहुरी आफ्नै गुलियोमा टाँसिएर उठ्न सक्तैन।’ अमेरिकाबाट देश बनाउन फर्किएको भन्नु स्वभाविक मान्नुपर्छ। गिनिज बुकमा नाम लेखाएर देश चिनाउनुलाई धन्यवाद दिनुपर्छ। तर त्यसको चर्चा र श्रेयलाई गलत प्रवृत्तिमा ढाल्ने र त्यसको पनि ढाकछोपका लागि लोकप्रियता नै चकनाचुर हुनेगरी राजनीतिमा प्रतिस्थापन गर्ने चेष्टा सही थियो कि गलत? अदालती प्रक्रियाले गर्ने आदेश, फैसलापछि निक्र्यौल गरौंला। मूलधारे भनिएका मिडिया किन लामिछानेप्रति अहिले होइन, पहिलादेखि नै आलोचनात्मक थियो? नेपथ्यमा उनले प्रेस काउन्सिलप्रति देखाएको व्यवाहार एउटा आधार होला तर राजनीतिक जीवनमा प्रवेश गरेपछिका मुख्य दुई कारण भेट्छ टिप्पणीका।

मिडिया हाउस सञ्चालकका निजी मामिला र खराबी नहुने भन्ने होइन, हुन सक्लान्। त्यसको पनि सोही हिसाबले खोजी हुनुपर्छ। तर, पत्रकार या सम्पादक रवि लामिछानेका विषयमा किन सकारात्मक हुन सकिरहेका छैनन्?, रविको राजनीतिक उदयप्रतिको इष्र्या होइन। उनीबाट परिवर्तन हुन सक्ने लख काटिरहँदा सहकारी प्रकरणदेखि अनेक काण्डमा लामिछानेको संलग्नताका प्रमाणहरूको फेहरिस्त पनि हो। जुन राजनीतिज्ञसँग आश गरिएको हुन्छ उसको मुखिया नै गलत बाटोमा रहेपछि स्वभाविक आलोचन हुन्छ। उनले गृहमन्त्रीको पद पहिलो चरणमा खुस्केपछि नामै किटेर गरेको हत्कण्डा र सृजना गरेको भाष्य हो। उनले नेपाली मिडियामा लामो समयसम्म योगदान गरेका सम्पादकको नाम किटेरै ‘१२ भाई’, ‘डबल मार्ट’, सम्पादक्नी भाउजूहरुले मोबाइल ह्वाट्स एप हेर तिम्रो श्रीमानको चरित्र देखिन्छ आदी अनादर गरी बोलेका थिए।

देशमा ठूलो मत पाएको, आशा गरिएको र भर्खरै उपप्रधान तथा गृहमन्त्री बनिसकेर उनकै नागरिकता प्रकरणमा अदालतले प्रक्रियामा जानका लागि आदेश दिँदा पत्रकार तथा सम्पादकको निजी जीवनसँग के अर्थ राख्छ? त्यो आवेगका लामिछाने नसच्चिनु र अहिले एकमाथि अर्को स्क्याम्पमा बेरिँदै जानेलाई कुनै पनि सम्पादक या पत्रकारले निजी रुपमा निको मान्न सक्तैन। यसकारण रविप्रति सहानुभूति नराखेका हुन सक्छन्।