बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार

मंगलबार, मंसिर ११ २०८१

युक्रेन । युक्रेनले सोमबार रूसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ । युक्रेनी शहर खार्किभका अधिकारीले रूसको सीमानजिकैको शहरको केन्द्रमा रूसी क्षेप्यास्त्र प्रहारबाट १९ जना घाइते भएको बताएका छन्।

पछिल्लो समयमा मस्को र किएभले सीमापार ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाइरहेका छन् । रूसले गतहप्ता युक्रेनमा नयाँ ओरेसनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । ‘युक्रेनको डिफेन्स इन्टेलिजेन्स’को अपरेसन परिणामस्वरूप, रूसको कालुगा क्षेत्रस्थित इन्धन तथा ऊर्जा सुविधामा रातारात आक्रमण भएको स्रोतले जनाएको छ।

कालुगाका रूसी गभर्नरले यस क्षेत्रमा भएको ड्रोन हमलाबाट एउटा ‘औद्योगिक उद्यम’ मासमेत आगलागी भएको पुष्टि गरेका थिए। स्रोतका अनुसार आक्रमणको लक्ष्य कालुगानेफ्टप्रोडक्ट जेएससीको तेल डिपो थियो, जुन युक्रेनविरुद्ध रूसको सशस्त्र आक्रमणलाई समर्थन गर्नका लागि प्रयोगमा छ।

यसै क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गतहप्ता निप्रो शहरमा गरिएको आक्रमण सबैभन्दा नयाँ रूसी मध्य-दूरी मिसाइल प्रणालीमध्ये एक रहेको बताउँदै त्यस्ता थप ‘परीक्षणहरू’गर्ने वाचा गरेका छन्। रासस/एएफपी।