बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गलत काम गर्ने मन्त्री–मुख्यमन्त्री भएपनि कानूनको दायरामा ल्याइन्छ : सञ्चारमन्त्री

मंगलबार, कार्तिक २७ २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगति हटाउन सरकारले योजनावद्ध रुपमा काम गरिरहेको बताएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सोमबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिएका हुन् ।

मन्त्री गुरुङले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको पनि बताए ।

समाज, राजनीतिलाई अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने छुट कसैलाई नरहेको उनको भनाई छ । गलत क्रियाकलाप गर्नेहरुलाई आफ्नै पार्टीका भएपनि सरकारले नछोड्ने मन्त्री गुरुङले बताए ।

‘समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको छ । खास गरी राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने कुरा, राजनीतिमा अपराधीकरणको प्रक्रिया जुन भइरहेका छन, सर्वत्र तिब्र आलोचना भइरहेको छ, यसलाई रोक्ने कुरामा वर्तमान सरकार दृढसंकल्पित छ,’ सञ्चारमन्त्री गुरुङले भने।

मन्त्री गुरुङले सबै कुराको समाधान एकै दिनमा नहुने भएकाले कतिपय बेला धैर्यता देखाउन आवश्यक हुने धारणा पनि राखे ।

’हाम्रो समाजलाई, हाम्रो राजनीतिलाई अझ अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, हाम्रो सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउने खालका क्रियाकलाप गर्ने कसैलाई पनि छुट छैन । कोशी प्रदेशको कानूनमन्त्रीको कुरा गर्नुभएको होला । त्यो एउटा संकेत हो । यस्तो हर्कत गरेको खण्डमा सरकारले सत्तारुढ दलको कुनै सांसद होस कि, कुनै मन्त्री वा मुख्यमन्त्री होस, त्यसले छुट पाउँदैन । गल्ती गर्नेले सजाय पाउनुपर्छ । चोरलाई चौतारो साधुलाई शुली हुँदैन, साधुलाई चौतारो, चोरलाई शुली नै हुन्छ,’सरकारको धारणा प्रष्ट पार्दै सञ्चारमन्त्री गुरुङले भने।

उनले गलत प्रवृत्ति नियन्त्रणमा सरकार गम्भीरताका साथ लागेको भन्दै यो काम नरोकिने बताए ।