काठमाडौं फागुुन, २०–
आशा लघुवित्त वित्तीय संस्थाले २०७५ फागुन १८ र १९ गते सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय नयाँ रोड, सर्लाहीमा आबद्ध ६० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख महेश कोइरालाले यस तालिमले यस क्षेत्रका महिला सदस्यहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त तालिमबाट सहभागीहरुले कम लागतमा सर्फ उत्पादन गर्ने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धिका लागि संस्था क्रियाशील रहने विचार व्यक्त गरे । तालिम कार्यक्रममा वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएका थिए ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४० हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब एक अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ३५ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।