काठमाडौं माघ, २९–
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आयोजना गर्ने भएको छ । यही फागुन १५–३० गतेसम्म संचालन हुने यात्राका लागि तयारी भइरहेको राप्रपाले जनाएको छ ।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार यात्राको तयारीका लागि केन्द्रमा सचिवालय स्थापना गरिएको छ । त्यस्तै, जिल्लाको तयारीका लागि चारवटा टोली पठाईएको छ ।
फागुन १५ गते ताप्लेजुङको सदरमुकामबाट यात्राको शुरुआत गरिनेछ । यात्राका क्रममा एकसय भन्दा बढी सभा आयोजना गरिने र त्यसलाई राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेशमै प्रयाप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दवाव दिने उद्देश्यले यात्रा गर्न लागेको जनाएको छ ।
त्यस्तै, यात्राका क्रममा सबै प्रकारका महिला हिंसा, जातीय विभेद र छुवाछुतको अन्त्यका लागि पनि जनजागरण गराइने राप्रपाले जनाएको छ ।