आव २०८०/०८१ को खुद मुनाफामा झण्डै १५ सय प्रतिशतले बृद्धि
काठमाडौं । प्रभु बैंकले खुद मुनाफा आर्जनमा ऐतिहाँसिक सफलता हाँसिल गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/०८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा चार अर्ब ४८ करोड आठ लाख १० हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । बैंकले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा १४ सय ९९ दशमलव शुन्य चार प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले कुल २८ करोड दुई लाख १९ हजार रुपैंयाँ मात्र खुद मुनाफा कमाएको थियो।
चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैंयाँ रहेको बैंकले आव २०८०/०८१ मा तीन खर्ब पाँच अर्ब एक करोड २८ लाख ५२ हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब २५ अर्ब १९ करोड एक लाख ५९ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा १२ अर्ब दुई करोड २५ लाख ५४ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा तीन अर्ब ४६ करोड तीन लाख २० हजार रुपैंयाँ रहेको बैंकको स्प्रेड दर भने तीन दशमलव ९७ प्रतिशत रहेको छ।
अघिल्लो आवमा भने बैंकले दुई खर्ब ८९ अर्ब नौं करोड नौं लाख २७ हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब ३४ अर्ब १५ करोड ४८ लाख ९५ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० अर्ब छ करोड ६४ लाख ४४ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने वितरणयोग्य नाफा ५३ करोड ७९ लाख ३८ हजार रुपैंयाँले ऋणात्मक रहेको थियो।