काठमाडौं । बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ ।
राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
राजदूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ।
बंगलादेशमा सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षणविरुद्ध प्रदर्शनका क्रममा कम्तीमा ६ जनाले ज्यान गुमाएका छन् ।
यस घटनापछि देशभरका सबै स्कुल र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । स्कुल र विश्वविद्यालय अर्को आदेश नआउन्जेल नखोल्न भनिएको छ ।
बंगलादेशमा सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेकाहरूका सन्तानलाई आरक्षण दिइएको छ ।
सन् १९७१ मा बंगलादेश ठूलो युद्धपछि पाकिस्तानबाट स्वतन्त्र भएर नयाँ देश बनेको थियो ।