घरमा पालिएको पशु चौपाया होस् या जंगलका जनावर बोल्न सक्दैनन् । तर, यीनीहरु मानिसले बोलेको कुरा बुझ्छन् । साँच्चिकै भन्नुपर्दा पशु चौपाया र जंगली जनावरहरु मानवभन्दा बढी वुद्धिजीवी हुन्छन् । यीनीहरुलाई के गर्नु हुन्छ र के गर्नु हुन्न भनेर थाहा हुन्छ । हामी मानिससँग त बोल्न सक्ने क्षमता पनि छ।
अहिले अधिकांश मानिस शिक्षित छन् । बोल्न नसक्ने वा अशिक्षित पशुले त कुन काम गलत र कुन कम सही भनेर छुट्याउन सक्छ भने हामीले त झनै बुझ्नुपर्ने हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री भए । त्यतिबेला अर्थमन्त्री विष्णु पौडेल भएका थिए।
०७९ फागुल्न १७ गते एमाले प्रचण्ड सरकारबाट बाहिरियो । त्यसपछि पौडेलको पनि अर्थमन्त्री पद गुम्यो । अहिले विष्णु पौडेल पुनः अर्थमन्त्री बनेका छन् । गत असार ३१ गते मात्र गठन भएको नयाँ सरकार उनी अर्थमन्त्री बनेका हुन् । काँग्रेस–एमालेले मिलेर नयाँ सरकार गठन गरेका हुन् । एमाले अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री बनेका छन्।
तर, कानून व्यवसायीहरुले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन नगरिएको भन्दै सर्वोच्च अदालतमा समेत रिट दर्ता गरिसकेका छन् । सर्वसाधारण भन्छन्, ‘ओली सरकार बढीमा दश दिन टिक्छ । अदालतले हटाइदिन्छ ।’ पहिला पनि अदालतकै कारण ओलीको प्रधानमन्त्री पद गएको थियो।
०७८ असार २८ गते सर्वोच्च अदालतले दुई पटक संसद विघटन गरेका ओलीको प्रधानमन्त्री पद खोसिदिएको थियो । यदि अब सर्वोच्च अदालतले ओलीकै पक्षमा फैसला सुनाएपनि अहिले आम नागरिक भन्छन्, ‘यो सरकार सय दिनभन्दा उता टिक्दैन ।’ बच्चादेखि बुढासम्मलाई थाहा छ कि काँग्रेस–एमाले आफ्ना काण्ड लुकाउन मिलेका हुन्।
झापाको गिरिबन्धु टु स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गर्ने ओली नै हुन् । यसअघि प्रधानमन्त्री हुँदा उनले मन्त्रिपरिषद्मार्फत नै यस्तो निर्णय गरेर राज्यलाई हानिनोक्सानी वा सरकारी सम्पत्तिको दोहन गरे । यता, काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको पनि नक्कली भुटार्नी शरणार्थी प्रकरणमा संलग्नता छ भन्ने कुरा प्रष्ट भइसकेको छ।
त्यसैले, ओलीले आफु बच्न र देउवाले पत्नी जोगाउन सहमति गरेका हुन् । बजारमा पूरै मन्दी छ । बैंकमा कर्जा माग्न जाने कोही छैन । बैंक टाट पल्टिसकेको छ । सहकारी, लघुवित्त, फाइनान्सहरु पनि सबै भागिसकेका छन् । घरजग्गा, गाडीको किनबेचमा खडेरी नै आएको छ । केही वर्षअघि मात्र करोडमा किनेको घरजग्गा अहिले लाखमा बिक्री हुन्न । लाखमा किनिएको सवारीसाधन पनि बीस–तीस हजारमा समेत बिक्री हुँदैनन् । अहिले नयाँ होस् या पुरानो जुनसुकै सवारीसाधनको किनबेचमा मन्दी छ।
काठमाडौं उपत्यकासहित देशभर घरहरु खाली हुँदै गएका छन् । जताततै कोठा, सटर र फ्ल्याट खाली भएका छन् । भाडामा बस्नेभन्दा अहिले टुप्लेट लेखिएको बढी भेटिन्छ । यता, व्यापार व्यवसाय पनि पूरै मन्दीमा छ । व्यापारीहरु पलायन हुन थालेका छन् । हुन पनि त हो दिनभर एउटै पनि ग्राहक नआएपछि कसरी सटर भाडा तिर्ने ? कसरी जीविकोपार्जन गर्ने ?
अहिले अधिकांश व्यापारी विदेश पलायन भएका छन् । धेरैले ऋण तिर्न नसकेर आत्महत्या गरेका छन् । कतिपय देशै छोडेर भागेका छन् । बैंक, सहकारी, लघुवित्त, फाइनान्सले पनि सर्वसाधारणको उत्तिकै बिजोग बनाएको छ । बैंकमा बचतकर्ता राखेको पैसा कर्मचारीहरुले खाताबाटै चोरिएको घटना बाहिरिएका छन् । सहकारीमा करोडौं बचतकर्ताले खर्बौ रकम राखेका थिए।
तर, सहकारीका सञ्चालकहरु बचतकर्ताको रकम लिएर रातारात फरार भएका छन् । अहिले ती बचतकर्ताहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । हिजो खाइनखाई, घरजग्गा बेचेर, जीवनभर कमाएको पैसा सहकारीमा राखेका ती बचतकर्ता आज सहकारीकै कारण डिप्रेशनमा गएका छन् । कतिपयले त आत्महत्या गरेको पनि सुनिन्छ । यता, दलालीहरुले सेयरमा पनि ठुलो चलखेल गरे।
बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले मूल्य बढाएर ३५ सयमा बेचे । रोपनीको दश हजारमा बिक्री नहुने खेतीयोग्य जमिन समेत खण्डीकरण गरेर आनाकै ६०–७० लाखमा बेचिदिए । गाडीमा एक लाखमा पाइने सवारीसाधन पनि यहाँ लाखदेखि करोडमा बेचियो । बजार चलायमान हुँदा सबैले सबैलाई ठगे ।
घरधनीहरुले एउटा सानो चिसो र अध्याँरो कोठाको ठाउँअनुसार पाँच हजारदेखि २० हजारसम्म लिए । एउटा सटरको २५ हजारदेखि १८ लाख, एक फ्ल्याटको ३० हजारदेखि दुई लाख असुले । खाली सटर त झन् २० लाखदेखि ५० लाखसम्म किनबेच गरियो । अहिले विष्णु पौडेल अर्थमन्त्री हुनासाथ सेयर बजार तातिएको छ । तर, उनी न कुनै अर्थविद् हुन् न त सेयर व्यापारी । उनी एमालेमा संलग्न एक साधारण व्यक्ति मात्र हुन्।
एमाले सरकारबाट बाहिरिएसँगै उनको पनि अर्थमन्त्री पद गुम्नेछ । अनि अहिले महंगोमा सेयर किन्ने सर्वसाधारण फेरि पनि डुब्नेछन् । बैंक, बीमा र हाइड्रोपावर कम्पनी घाटामा गएका छन् । सेयरमा लगानी गर्ने नै यी तीन संस्था हुन् । फेरि यीनीहरु नै घाटामा गएपछि कसरी सेयरको मूल्य बढ्छ ?
अहिले सेयर दलालीहरुले विष्णु पौडेलको नाम फिँजाएर महंगोमा सेयर किन्न लगाई पुनः आम नागरिक फसाउने रणनीति बनाएका छन् । त्यसैले, अब सर्वसाधारण फस्नु हुन्न । यसअघि पनि यीनीहरुले यसरी नै सर्वसाधारण डुबाए । घरखेत नै बेचेर सेयरमा लगानी गरेका सर्वसाधारणहरु डुबेपछि आत्महत्या गर्नुपर्ने अवस्थामा समेत पुगे।
बुढोपाकाले भन्थे, ‘कि पढेर जान्नुपर्छ कि परेर जान्नुपर्छ ।’ केही वर्षअघि संघीय संसद भवनअगाडि एक व्यक्तिले आत्मदहन गरे । व्यापारव्यवसायमा डुबेपछि उनले संसद भवनअगाडि नै आफुमाथि पेट्रोल खन्याएर आगो लगाए । नेपालमा उद्योग, कलकारखाना केही छैन । त्यसैले, सेयरको मूल्य बढ्ने कुनै आधार छैन।
तर, सेयर दलालीहरुले अहिले पौडेल अर्थमन्त्री हुनासाथ हवात्तै मूल्य बढाएका छन् । सेयरमा निश्चित ठुला व्यक्तिको लगानी छ । उनीहरुले हल्ला फिँजाएर जुनसुकै बेला पनि सेयरको मूल्य बढाउँछन् अनि महंगोमा सेयर किन्न लगाएर सर्वसाधारण फसाउँछन् । हामी मानिस पनि आफुलाई शिक्षित भन्छौं । यद्यपि, हामीसँग कुनै कुरा ठिक र कुन बेठिक भनेर छुट्याउन सक्ने क्षमता छैन।
केही वर्षअघि पनि सेयरको मूल्य हवात्तै बढेको थियो । दलालीहरुले सय रुपैयाँको सेयर ३५ सय रुपैयाँमा सर्वसाधारणलाई बेचियो । फेरि सर्वसाधारणले त्यो सेयर किन्नासाथ सेयरको मूल्य हवात्तै घट्यो । ३५ सयको सेयर सय रुपैयाँमा बिक्री नहुने अवस्था निम्तियो । यँही कारणले कतिपयले त आत्महत्या समेत गरे।
किनकि उनीहरुले आफ्नो घरजग्गा, गाडी, पुख्र्यौली सम्पत्ति बेचेर वा जीवनभर कमाएको करोडौं रकम सेयरमा लगानी गरेका थिए । सेयरमा लगानी गर्दा सर्वसाधारणलाई कुनै फाइदा छैन । सेयर भनेको जुवा हो । यसमा दलालीहरुले कब्जा जमाउँदै आएका छन् । उनीहरु आफु सस्तोमा सेयर किन्छन् अनि बजार तताएर महँगोमा बेच्छन्।
फेरि सर्वसाधारण बेच्न बेला भने सेयरको मूल्यमा गिरावट ल्याइदिन्छन् । त्यसैले, अब आम नागरिक सचेत हुन जरुरी छ । जथाभावी सेयरमा लगानी गर्नुहुन्न । दलालीहरुको लहैंलहैंमा नलगौं । किनकि बैंक, वित्तिय संस्थाहरु घाटामा गइसकेका छन् । अझै पनि सर्वसाधारण सचेत नहुने हो भने अहिले महंगोमा सेयर किन्ने जनता केही महिनामै पासो लगाउनुपर्ने अवस्थामा पुग्नेछन्।
रुषा थापा
भक्तपुर