भारतमा खान परिवारको रासनकार्ड, जग्गाजमिनदेखि मतदाता नामावलीमासमेत नाम
काठमाडौं । पछिल्लो समय सरकारले गरेको विभिन्न देशका राजदूत नियुक्तिबारे चौतर्फी आलोचना भएको छ ।
सरकारले स्वार्थ बाझिने गरी पूर्वम्यानपावर व्यवसायी तथा गैरनेपालीलाई समेत राजदूतमा सिफारिस गरेको छ ।
आफूसँग सल्लाह नै नगरी सरकारले राजदूत सिफारिस गरेको भन्दै कसैले इन्कार गरेका छन् भने स्वार्थ बाझ्ने गरी विवादास्पद व्यक्ति सिफारिस गरिएको भनेर कसैको चौतर्फी आलोचनासमेत भएको छ ।
तिनै विवादास्पद व्यक्ति हुन् साउदी अरबको राजदूतमा सरकारबाट सिफारिस भएका अबुसुफ्यान खान मुसलमान ।
उनी पेशाले मेनपावर व्यवसायी हुन् भने उनीसँग दोहोरो नागरिकतासमेत भएको प्रमाण तीनघुम्ती अनलाइनले प्राप्त गरेको छ । यस्तै उनको नाममा भारतमा जग्गा जमिनसमेत भएको तथ्य खुलेको छ ।
यसबीच उनै विवादास्पद व्यक्ति खानको सिफारिसविरुद्ध सञ्चारमाध्यमदेखि सरोकारवाला र प्रतिनिधिसभामासमेत चर्चा भइरहेको छ ।
गत मंगलबार उनीबारे प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले गम्भीर प्रश्न उठाएका छन् । मुसलमान गत जेठसम्म साउदी अरबमै श्रमिक पठाउने ‘ईशान ओभरसिज’का सञ्चालक भएको भन्दै सांसद यादवले उनलाई राजदूत बनाएर पठाउँदा स्वार्थ बाझिने बताए ।
‘स्वार्थ बाझिनेगरी पूर्व म्यानपावर व्यवसायी अबुसुफ्यान खान मुसलमान साउदी अरबको राजदूतमा सिफारिस गरेको छ,’ सांसद यादवले प्रतिनिधिसभाको शून्य समयमा भने, ‘नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्येको एक साउदी अरब हो । उनी गत जेठसम्म साउदी अरबमा श्रमिक पठाउने इशान ओभरसिजका सञ्चालक थिए।’
‘उनी लामो समयदेखि साउदीमा काम गर्दै आएका छन् । जुन देशमा श्रमिक पठाउँदै आएको छ, जहाँ कारोबार हुँदै आएको छ, त्यहि देशमा राजदूत जिम्मेवारी दिँदा सोझो स्वार्थ बाझिनेछ,’ सांसद यादवले भने । मुसलमानलाई राजदूत नियुक्ति गर्दा साउदीमा काम गर्ने म्यानपावर व्यवसायीहरू सशंकित भएको उनले बताए ।
‘जबकी राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ अनुसार, राजदूत नियुक्तिमा विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति पत्र अथवा सुविधा प्राप्त नगरिएको भन्ने व्यवस्था राखिएको छ,’ उनले भने, ‘म्यानपावर व्यवसायी आफैँ राजदूत भएर जाँदा साउदीमा काम गर्ने म्यानपावर व्यवसायीहरू सशंकित भएका छन्।’
मुसलमान भारतको सिद्धार्थनगरमा जन्मिएका हुन् । उनको हालको स्थायी ठेगाना कपिलवस्तुकाे मायादेवी गाउँपालिका हो ।
म्यानपावर (वैदेशिक रोजगार) व्यवसायमा पनि संलग्न रहेका मुसलमान जसपाको प्रदेश कमिटीको सल्लाहकार सदस्य छन् । उनले भारतबाट ‘इस्लामिक स्टडिज’मा स्नातकोत्तर गरेका छन् भने आफूलाई मुस्लिम समुदायको अभियन्ता भनेर पनि बताउँदै आएका छन् ।
दोहोरो नागरिकताधारी
अबुसुफ्यान खानले नेपालको नागरिकतासाथै भारतको पनि नागरिकता लिएको खुलेको छ । उनीसँग कपिलवस्तु जिल्लाबाट जारी भएको २५७८० नम्बरको नेपाली नागरिकता छ । सो नागरिकताकाे पनि दोश्रो प्रतिलिपि लिएका छन् भने भारतमा उनको रासनकार्ड तथा मतदाता नामावलीमा नाम रहेको छ ।
अबुसुफ्यान खानका बुवा, आमालगायत परिवारका सदस्यहरुको समेत दोहोरो नागरिकता रहेको तथ्य खुलेको छ । भारतमासमेत घरजग्गा रहेको अबुसुफ्यानलाई हालसम्म पनि भारत सरकारले ठगी गरेको आरोपमा फरार सूचीमा राखेको छ । उनको परिवारका केही सदस्यहरु हालसम्म पनि भारतमा बसोवास गर्छन् ।

म्यानपावर एजेन्सीको मालिक तथा दोहोरो नागरिकताधारी अबुसुफ्यान खानलाई प्रचण्ड सरकारले साउदीको राजदूतको उपहार दिएसँगै सर्वत्र विरोध तथा आलाेचना भइरहेको छ ।
अबुसुफ्यान खानले सामाखुशी टाउन प्लानिङ्गस्थित इशान ओभरसिज सन्चालन गर्दै आएका छन् । विशेषगरी साउदी अरब र मध्यपूर्वका मुलुकमा नेपाली युवालाई रोजगारीका निम्ति लैजाने उक्त ओभरसिजका मालिक खानलाई विगतका धेरै वटा काण्डमा साउदीको राजधानी रियादस्थित नेपाली दूतावासमा बोलाएर सचेत गराएको थियो ।

सोहि मान्छेलाई उक्त देशकै राजदूत बनाएपछि आम नागरिकले मेनपावर चलाउन राजदूत बनाएको हो कि राजदूतावास चलाउन बनाइएको हो सरकारलाई प्रश्न गरिरहेका छन् । अबुसुफ्यानलाई राजदुत बनाएसँगै साउदिस्थित नेपाली राजदुतावासमा तरङ्ग उत्पन्न भएको छ । जसलाई दूतावास बोलाएर सचेत गराएको उनै ब्यक्ति दूतावासको उपसचिव र अधिकृतसरहका कर्मचारीलाई हप्काइ दप्काई गर्ने र गोप्य रिपोर्ट (कार्य सम्पादन मूल्यांकन) भर्ने हैसियतमा पुग्ने भएपछि साउदीस्थित नेपाली राजदूतावास तथा त्यहाँ रहेका कामदारहरु समेत सशंकित भएका छन्।
अबुसुफ्यानलाई अशोक राई नेतृत्वको समाजवादी पार्टीले राजदूतका लागि सिफारिस गरेको हो ।


राजदूतमा सिफारिस भएका मुुसलमानको तीन पुस्ते परिवारले नेपाली नागरिकता लिइएकाे भएपनि अझै भारतमा उनीहरुकाे जग्गाजमिनदेखि भोटर लिस्टमा नामसँगै रासन कार्ड पनि रहेको पाइएको छ ।
हेर्नुहोस् तीन पुस्ते नेपाली नागरिकता




राजदूत नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ अनुसार राजदूत नियुक्तिमा विदेशी मुलुकको स्थायीरअस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेको भन्ने योग्यता तोकिएको छ । तर, साउदीमा आवासीय कार्ड (अकमा) भएकाले मुसलमानले लामो समयदेखि साउदी अरबमा नै बसेर काम गर्दै आएका थिए ।
यता मुसलमानले भने दुई वर्ष अगाडि नै आफ्नो साउदीको अस्थायी बसोबासको अनुमति रद्द भइसकेको बताउँदै आएका छन्।


अबुसुफ्यान खान बिरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी
सरकारले एक साता अघि ८ देशका लागि राजदूत सिफारिस गरेको छ । राजदूत सिफारिस गरिएका ८ मध्ये एमालेबाट ५, जनता समाजवादी पार्टीका दुई र माओवादीका एक जना छन् ।
दक्षिण कोरियाका लागि सिफारिस गरिएका मानवअधिकारवादी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् ।
साउदी अरबका लागि सिफारिस गरिएका अबुसुफ्यान खान मुसलमान बिरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजुरी परेको छ ।
उजुरीमा साउदी अरबका लागी अबुसुफ्यान खान मुसलमानलाई राजदूत सिफारिस गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै असहमति व्यक्त गरिएको छ ।
उजुरीमा अबुसुफ्यानले नेपाल र विदेशमा रही विभिन्न अवैधानिक गतिविधी गर्दै आएको दाबी गरिएको छ । उजुरीमा उनी बैदेशिक रोजगार व्यवसायी रहेको र नेपाल र भारत दुबै देशको नागरिकता रहेको दाबी गरिएको छ ।
उजुरीमा खानबिरुद्ध भारतका बिभिन्न अदालतमा मुद्दा बिचाराधीन रहेको दाबी गरिएको छ ।
साथै साउदी अरब र दुबहीमा समेत गैरकानूनी कारोबारमा सग्लन रहेको कुरा उजुरीमा उल्लेख छ । उजुरीमा नीजलाई राजदूतका रुपमा पठाउँदा देशको प्रतिष्ठामा नै आँच पुग्ने हुँदा पुन बिचार गर्न पनि आग्रह गरिएको छ ।

राजदूत नियुक्ति सच्याइने : प्रधानमन्त्री
यसैबीच स्वयम् राजदूत सिफारिस गरिएका व्यक्तिको इच्छा चाहनाविपरित र विवादास्पद व्यक्ति राजदूत सिफारिस भएपछि प्रचण्ड सरकार कोर्स करेक्सन गर्ने मुडमा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ आफैँले सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति सच्याइने बताइसकेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१–०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कमी, कमजोरी रहेको भए राजदूत नियुक्ति सच्याइने बताएका हुन्।
प्रधानमन्त्री दाहालले भने, ‘राजदूत नियुक्तिको सन्दर्भमा सम्बन्धितहरूसँग छलफल गरेर केही कमी रहेछ भने सच्याइन्छ। यो विश्वास दिलाउन चाहन्छु । मेरिटकै आधारमा यो अगाडि बढोस् भन्ने हाम्रो धारणा पनि म प्रष्ट रूपमा राख्न चाहन्छु।’
सरकारले शुक्रबार ८ देशका लागि राजदूत सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले साउदी अरबका लागि मुसलमान, अमेरिकामा चन्द्र घिमिरे, दक्षिण कोरियामा सुशील प्याकुरेल, डेनमार्कमा सुम्निमा तुलाधर, मलेसियामा नेत्रप्रसाद तिमिल्सिना, बेलायतमा विजन पन्त र स्पेनमा पुष्पराज राजकर्णिकारलाई राजदूतमा सिफारिस गरेको थियो ।