काठमाडौं । तापक्रम बढ्दै जाँदा हामी चिसो पानी र कार्बोनेटेड पेय पदार्थहरू पिउने गर्छौं। चिसो वा कम तापक्रमले हाम्रो रक्तनलीहरू साँघुरो पार्छ र हाम्रो शरीरमा ताप घटाउने प्रक्रियालाई सुस्त बनाउँछ।
गर्मीयामसँगै विभिन्न रोगले सताउन सक्छ । जस्तै, आँखा पाक्ने, छालाको एलर्जी, टाउको दुख्ने आदी ।
गर्मीको मौसममा फ्रूट जूस, चिसो पानी, चिसो लस्सी, कोल्ड कफी र केहीलाई कागती पानी पिउन बढीले रुचाउने गर्छन् । तर, यो गर्मीको मौसमलाई झेल्न र यसबाट बच्न भने कमैले मोही पिउन मन पराउँछन् ।
मोही स्वादिलो त हुने नै भयो, स्वस्थ्यकर पनि । मोहीका अनेक गुण छन्, जसबाट हाम्रो स्वास्थ्य लाभान्वित हुन्छ ।
तर, एउटा कुरा भने ख्याल राख्नुपर्छ । अक्सर शहरी क्षेत्रमा दहीमा पानी घोलेर त्यसलाई पातलो बनाइन्छ । त्यसैलाई मोही भनिन्छ । असली मोही भने अलि भिन्न हुन्छ, जुन गाउँघरमा पाइन्छ ।
सबैको आ–आफ्नो इच्छा र सबैको छुट्टा–छुट्टै स्वाद चाख्ने रहर हुन्छ । तर, मोही पिउनाले हाम्रो स्वास्थ्यलाई कस्तो फाइदा हुन्छ भन्ने बारेमा बुझ्यौँ भने सबैले दिनको एक पटक भएनि मोही पिउनु नै हुनेछ ।
मोहीले खान पचाउनदेखि शरीरलाई सितल राख्नसम्म काम गर्छ ।
पोषणविद्का अनुसार मोही दहीबाट बनाइन्छ र यसमा शरीरलाई फाइदा पुर्याउने धेरै तत्व हुन्छन् । दहीबाट मोही बनाउँदा एक प्रकारको ब्याक्टेरिया पैदा हुन्छ, जसले पाचन प्रक्रियालाई चुस्त राख्न सहयोग गर्छ ।
मोहीले शरीरमा रगतको कमी, पानीको कमी तथा कमजोरी हुनबाट जोगाउँछ । भोक नलाग्ने व्यक्तिले मोही खाएमा फाइदा पुग्छ । मोहीले खासगरी पाचन प्रणालीलाई राम्रो बनाउँछ ।
मोही पिउनुको फाइदा
१. शरीरको तापक्रमलाई सँधै निन्यत्रणमा राख्न मद्दत गर्छ ।
२. पाचन क्रिया सँधै राम्रो बनाइ राख्छ ।
३. धेरै मसालेदार खाना खाइसकेपछि हुने जलन र एसिडिटीमा राहत दिलाउँछ ।
४. खाना खाइसकेपछि मोही पिउनाले शरिरमा अतिरिक्त बोसोलाई जम्न दिदैँन ।
५. क्याल्शियम, प्रोटीन, भिटामिन बी र पोटाशियमको गुणले भरपुर हुन्छ ।
६. छालालाई चम्किलो बनाउनमा सहयोग गर्छ । मोहीको नियमित सेवनले छाला कोमल र मुलायम बनि रहन्छ ।
मोहीले शरीरलाई सितलता प्रदान गर्छ । पानीको अभाव हुन दिदैन । विभिन्न किसिमका दीर्घ रोगमा समेत मोहीको सेवन लाभदायक मानिन्छ । गर्मीमा चिसो पेय पदार्थ प्रयोग गर्नुको सट्टा मोही, दही खानु स्वास्थ्यको लागि समेत फाइदाजनक हुने स्वास्थ्यकर्मीको भनाई छ।