मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

अखिल (क्रान्तिकारी) रुपान्तरण अभियानले तिब्रता लिँदै , उमेरहदको पक्षमा चर्को मत

मंगलबार, जेष्ठ २९ २०८१

काठमाडौं । अखिल क्रान्तिकारी केन्द्रिय समितिको २३ औँ राष्ट्रिय सम्मेलनमा ३२ बर्ष उमेरहद लागु गर्नु पर्ने माग बढ्दै गइरहेको छ।

विद्यार्थी संगठन वास्तविक र नियमित विद्यार्थीहरुको हातमा फर्काउने अभियान अन्तर्गत हाल काठमाडौँको विभिन्न क्याम्पसहरुमा बहसको कार्यक्रम चलिरहेको छ।

अखिल ( क्रान्तिकारी ) को २१ औ राष्ट्रिय सम्मेलन देखी नै उमेरहदको चर्को आवाज उठेको थियो। तर पटकपटक बहुसंख्यक विद्यार्थीको आवाज हुँदाहुँदै पनि नेतृत्वले यस मुद्धालाई जालजेल पुर्ण रुपमा दबाउदै आइरहेको अभियानका सक्रिय नेताहरुको भनाइ छ । तर, यसपटक जुनसुकै मुल्य चुकाएर पनि मुद्धा संस्थागत गर्ने उनीहरुको दाबी छ।

“विगत लामो समयदेखि विभिन्न माध्यमबाट उठिरहेको यो मुद्धा अनामनगर भेला पश्चात् अझ शसक्त र नियमितरुपमा अघि बढेको छ। यो एउटा आन्दोलन हो र यसलाई हामी अखिल (क्रान्तिकारी) रुपान्तरण अभियान भन्न रुचाउँछौ”, अखिल (क्रान्तिकारी), नेपाल ल क्याम्पसका अध्यक्ष ओम प्रकाश सुनारले बताए।

उनीहरुले निरन्तर विभिन्न क्याम्पसमा भेला गर्दै तल्लो कमिटी सम्म आफ्नो आवाज पुर्याउने कोशिस गरिरहेको देखिन्छ। अस्कल क्याम्पस , चक्रवती हावी एजुकेसन र नेपाल ल क्याम्पसमा कार्यक्रम गरिसकेको यो अभियन क्याम्पस जिल्ला भित्रका क्याम्पस नेतृत्व र स्ववियू नेतृत्व द्वारा थालनी भएको थियो। अभियानमा आज प्राबिधिक जिल्ला कमिटी तथा विभिन्न राष्ट्रिय  कमिटिहरुको पनि सहभागिता र एक्यवद्धता रहेको उनीहरुले दाबी गरेका छन् । “यो हामी उपत्यकाका केही साथीहरुको मात्र मुद्धा होइन , देशभरका आम अखिल (क्रान्तिकारी) निकट साथीहरुको आवाज हो र हामीलाई उहाँको एक्यवद्धता छ”,  अखिल (क्रान्तिकारी) शंकरदेवका अध्यक्ष विरेन्द्र जिसीले भने ।

“अखिल क्रान्तिकारीको २३ औ राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर केन्द्रिय कमिटीले गठन गरेको विधान मस्यौदा समिती द्वारा आयोजित प्रदेश स्तरिय भर्चुअल सुझाव संकलन बैठकमा सबै प्रदेश बाट उमेरहदको पक्षमा चर्को आवाज उठेको छ, यो आवाज अंकमा भन्नुपर्दा ९०% भन्दा माथी छ” अस्कल क्याम्पसका स्ववियु सभापती प्रेम जैसीको दाबी छ ।

कलम , कापीको मूल्य जान्ने, परिक्षा सेडुलको जानकारी राख्ने र विद्यार्थी Identity card बोक्ने नियमित र बास्तविक विद्यार्थीहरुको हातमा संगठनको नेतृत्व  नफर्किउन्जेल यो अभियान बाट आफुहरु पछि नहट्ने ताहचल क्याम्पसका अध्यक्ष दिपेन्द्र शाहीले जनाए ।