बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरेलसंग चेम्बरको सहकार्य हुदै

मंगलबार, जेष्ठ १५ २०८१

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यवसायिक प्रतिनिधीबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रर्वद्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र इजरेल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत बर्सन्टेन रेचले हस्ताक्षर गरेका हुन्।

नेपाल इजरेल चेम्बरबीच भएको सम्झौता अनुसार आफ्ना सदस्यहरुको हित अनुकुल हुने गरी व्यापार तथा लगानी सम्वन्धी कानुन र नियमहरुको जानकारी उपलब्ध गराउने उल्लेख छ । यस्तै मैत्रीपुर्ण सम्वन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्वन्धमा समेत सहकार्यको सम्झौता भएको छ ।

सम्झौतामा भनिएको छ, ‘कृषिको विकास प्रर्वद्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिनेछ, । ’यस्तै नेपाल र इजरेलका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधीले एक अर्कोका देशमा गर्ने व्यवसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा पनि सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो ।