बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारको काम प्रभावकारी नभएको भन्दै नेकपाका नेताले राखे मन्त्रिपरिषद् पुनर्गठनको माग

बुधबार, पुष ४ २०७५

काठमाडौं पुस, ४–
 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  जारी स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ । गएको आइतबारदेखि सुरु बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि  छलफलमा बोल्ने बहुसंख्यक नेताले  सरकारको कामकारबाहीको आलोचना गर्दै आएका छन् । उनीहरुले सरकारको कामकारबाही प्रभावकारी हुननसकेको भन्दै असन्तुष्टि समेत जनाएका छन् । 
आजको  बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गरे । सरकार अपेक्षाअनुसार गतिशील नभएको भन्दै प्रधानमन्त्रीले बोलेका र निर्णय गरेका कतिपय विषय पुनर्मूल्यांकन गर्नुपर्ने बताए ।

‘कतिपय मन्त्रीहरु विवादित र सक्षम नदेखिएकाले उनीहरुलाई हटाएर मन्त्रिपरिषद पुनर्गठन गनुपर्छ,’ नेता पन्तले बैठकमा भनेका छन्, ‘यो प्रधानमन्त्रीको अधिकार हो, मन्त्रीहरुको कामकारबाहीको प्रधानमन्त्रीले नै मूल्यांकन गर्नुपर्छ ।’

तर, राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत तान्ने, ठूला ठेक्कापट्टा आफैं दिने जस्ता काम नगर्न उनले सुझाव दिए । राष्ट्रिय अनुसन्धानलाई हटाएर गृह मन्त्रालयले कसरी शान्ति सुरक्षा कायम गर्न सक्छ भन्दै उनले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरुलाई सक्रिय बनाउने हो, उत्तरदायी बनाउने हो, सबैथोक आफूमा थुपारेर कार्यबोझ बढाउनु हुन्न । जुन अहिले भइरहेको छ ।’

नेता पन्तले प्रधानमन्त्रीको पार्टी प्रमुखको जिम्मेवारी खोस्ने प्रस्तावको भने विरोध गरे ।