काठमाडौं पुुस, ४–
लिवर्टी इनर्जी कम्पनी किाठमाण्डौद्वारा प्रवद्र्धित लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको प्रभावित स्थानीय तथा सर्वसाधारण समेतको लागि साधारण शेयर जारी गर्न प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी लि. र बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटल लि. बीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीको हाल अधिकृत पुँजी १ अर्व ५० करोड रहेकोमा उक्त पूँजीको १० प्रतिसतका दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता शेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दाहरुलाई र थप १५ प्रतिसत अर्थात रु. २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा जारी गर्ने योजना रहेको छ । यसरी शेयर जारी गरी बाँडफाँट गरे पश्चात कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी रु.१ अर्व ५० करोड हुनेछ ।
यस कम्पनीले हाल निर्माण गरिरहेको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिका (साविक फलेनी र ढोडेनी गा.वि.स) मा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल खन्ने कार्य सम्पन्न भई सो को फिनिसिङ कार्य भईरहेको, पेनस्टक पाईप राख्ने काम अन्तिम चरणमा पुगिसकेको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको कार्य समेत अन्तिम चरणमा पुगेको र पावरहाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु साईट सम्म ढुवानी भईरहेको तथा जडानको लागि समेत तयारी भईरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करीब ८५ प्रतिशत सम्पन्न भई सकेको छ साथै आगामी चैत्र मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
उक्त आयोजनाको लागि इलेक्ट्रोमेकानिकल उपकरणहरु विश्वसनीय युरोपियन उपकरण निर्माता कम्पनी एन्ड्रजी हाईड्रो पावर कम्पनी बाट खरिद गरिएको छ र आयोजनाबाट उत्पादित विद्युत करिब १०० मिटरको दुरीमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको किर्तिपुर स्थित सव–स्टेशनमा जोडिने छ ।
यस कम्पनीको अध्यक्ष कुश कुमार जोशी तथा प्रवन्ध संचालक डा. आत्माराम घिमिरे छन् । साथै सञ्चालकहरु सुसिल थापा, राम बहादुर पाण्डे, राजेन्द्र वस्ती छन् । कम्पनीका सञ्चालकहरु देशको अग्रणी व्यापारिक समुह तथा अनुभवी उद्योग व्यवसायी साथै बैंक तथा वित्तिय संस्थामा पूर्व सञ्चालक आदि हुनुहुन्छ जसले आफ्नो सिप र ज्ञानको माध्यमबाट आयोजनालाई समयमै तथा कम लागतमै सम्पन्न गर्न हरतरह रुपले कार्य गरिरहेका छन् । उक्त आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग भएको सम्झौता अनुसार व्यापारिक उत्पादन गर्नुपर्ने मिति २०७६ भाद्र १४ भए तापनि आयोजनाको कार्य प्रगति हेर्दा कम्पनीको लक्ष्य भित्रै आयोजना सम्पन्न हुने देखिन्छ ।