काठमाडौं । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पद खुल्ला प्रतियोगिताबाट पूर्ति गर्न विज्ञापन खुलाइएको छ ।
शहरी विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक बन्न इच्छुक नेपाली नागरिकबाट आजको मितिले २१ दिनभित्र आवेदन आह्वान गरेको हो ।
कार्यकारी निर्देशक पदका लागि शहरी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन निर्देशिका २०७६ को दफा ३ मा उल्लेख भएबमोजिमको योग्यता हुनुपर्ने छ ।
निर्देशिकाको दफा ३ मा इन्जिनियरिङ, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानुनमध्ये कुनै एक विषयमा मान्यताप्रप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण भएको शैक्षिक योग्यता तोकिएको छ ।
नयाँबानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र चीन सरकारको सहयोगमा सन् १९९३ मा निर्माण भएको थियो ।
पहिले यसको नाम ‘वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ थियो भने गणतन्त्र स्थापनापछि पनि ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ भन्न थालिएको हो ।