झापाको दमक नगरपालिका–५ बस्ने प्रेम धिमालले घरमा रहेको स्नेहा होटलमा ईन्भटरको लाईन सर्ट भई मंगलबार बेलुकी लागेको आगो फैलिएर प्रेम धिमाल समेतका ३ वटा घर र नजिकैको लाईफ लाइन अस्पतालमा आगलागी हुँदा करिब २ करोड ४८ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीबाट प्रेम धिमालको घर, ३५ तोला सुन, लत्ताकपडा, भाडावर्तन, फर्निचर, फ्रिज २ थान, ईन्भटर, नगद ४ लाख गरी करिब ७९ लाख ९० हजार, सोही ठाउँ बस्ने रामवती भुजेलको घर जलेर करिब ५ लाख, सोही ठाउँस्थित रूवी होटल संचालन गरी बस्ने हल्दीबारी गाउँपालिका–५ घर भएका मेख बहादुर तामाङको घर, भाडाबर्तन, लत्ताकपडा, फर्निचर, खाद्य तथा पेयपदार्थ, ल्यापटप १ थान, १२ आना सुन, होटलमा रहेको अन्य सरसमानहरु समेत गरी करिब १३ लाख ४० हजार र सोही ठाउँ स्थित लाईफ लाईन अस्पतालको डाईलोसिस मेसिन ६ थान, एसी ३ थान, सीसी क्यामेरा १ थान र मेडिकल उपकरण गरी करिब १ करोड ५० लाख गरी उक्त रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–२ जमुवारस्थित गौतम प्रसाद गुप्ताको सन्देश ईलेक्ट्रोनिक पसलमा मंगलबार राति आगलागी हुँदा ईलेक्ट्रिक सामानहरु जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधारा बम्जिम बस्ने चेत बहादुर महतको घर र गोठमा मंगलबार साँझ आगलागी हुँदा हाते ट्रयाक्टर, लत्ता कपडा, भाडावर्तन लगायतका सरसामान जलेर करिब १३ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मोरङको रतुवामाई नगरपालिका–९ धाद्रा बस्ने दिपक बरालको घरमा मंगलबार साँझ आगलागी हुँदा अन्नपात, १ थान कुटी काट्ने मेसिन, १ थान कुटानी पिसानी मिल समेत पूर्णरुपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–३ भट्टराई टोल वस्ने मंगल बलमपाकी मगरको घरमा मंगलबार दिउँसो आगलागी हुँदा नगद १ लाख ५० हजार रूपैयाँ, सुन, अन्नपात, भाँडावर्तन लगायतका सामान जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–५ वाखोरस्थित होम बहादुर सोमै र कृष्ण बहादुर सोमैको कच्ची घरमा मंलगबार साँझ आगलागी हुँदा दुवै घर जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।