बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित सडकमा रूकुमबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सडकबाट करिब १ सय ५० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा बसमा सवार ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जनाको घटनास्थलमै र २ जनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार २६ जना मध्ये २० जनाको धवलागिरी अस्पतालमा उपचार भइरहेको छ भने ६ जनालाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरामा रिफर गरिएको छ ।
सप्तरीको कंचनरुप नगरपालिका–८ स्थित सडकमा प्रदेश १–०२–०४८ प ४६०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २१ वर्षीय शिवदत्त चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल कंचनपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।
धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा म प्र–०२–००७ प ४२६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ