काठमाडौं असोज, २५–
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको भूमिकाको उच्च प्रशंसा गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको दृढता, इमान्दारिता र कर्तव्यनिष्ठाको मुक्तकण्ठले प्रशंसा गरेका हुन्।नेपाल प्रहरीले जनताको निकट रहेर अपराध नियन्त्रण र समाजमा अमनचयन कायम गर्न उल्लेखनीय योगदान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाइ छ। ६३ औं प्रहरी दिवसको अवसर पारेर बिहिबार काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान काार्यालयमा आयोजित एक समारोहमा बोल्दै उनले संयुक्त राष्ट्र संघको मिसनमा रहेर नेपाल प्रहरीले खेलेको भूमिकाको पनि स्मरण गरे।
त्यस्तै, उक्त कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले आगामी दिनमा थप व्यवसायिक, जिम्मेवार र सक्रिय भएर अघि बढ्न जरूरी रहेको उनले बताए
। उनले राजनीतिक आडमा हुने चन्दा आतंक समाप्त पारेको दाबी समेत गरे । बिहिबार ६३ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रहरीले एक वर्षका अवधिमा यस्ताखाले चन्दा आतंक समाप्त पारेको र समाजमा शान्ति सुरक्षा कामय गरेको दाबी गरे ।
कुनै अतिरिक्त सेवा सुविधाविनै प्रहरी जवानहरुले समाजमा शान्ति सुरक्षा दिइरहेको उनको भनाई थियो । अपराधको अनुसन्धान गर्ने एकमात्र विज्ञहरुको समूह नेपाल प्रहरी नै भएको खनालको दाबी छ । प्रहरीले राम्रो काम गर्दा गर्दैपनि कुनै अपराध अनुसन्धानमा ढिला हुँदा प्रहरीको विश्वसनियतमाथि नै प्रश्न उठाउन नहुने खनालले बताए । अपराधको अनुसन्धानमा कति समय लाग्छ भने तोक्न नसकिने उनको टिप्पणी छ ।
प्रहरी एक्लैले मात्रै समाजमा अपराध निर्मूल पार्न नसक्ने भन्दै उनले यसमा सबैको साथ र सहयोग चाहिने स्पष्ट पारे । आइजीपी खनालले हिमाली भेगमा जाडो सुरु हुँदाखेरि पनि विना ब्यारेक प्रहरी जवानहरुले चिसोमा ड्युटी गरिरहेको बताए । शान्ति सुरक्षामा खर्च गर्नु भनेको अनुत्पादक ठाउँमा गरिने लगानी हो भनेर परम्परागत रुपमा नबुझ्न आइजीपी खनालले सरकारलाई सुझाव दिए । देशमा समृद्धि हासिल गर्न सुरक्षामा लगानी बढाउन आवश्यक रहेको उनको तर्क छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षकत्वमा नेपाल प्रहरी अगाडि बढिरहेको भन्दै खनालले प्रधानमन्त्रीले अघि बढाएको भ्रष्टाचारविरोधी अभियान नेपाल प्रहरीमा कार्यान्वयन हुने प्रतिवद्धता जनाए । साथै गृहमन्त्री रामबहादुर थापा बादलले अघि सारेको ८२ बुँदे गृहसुधार कार्ययोजनाका प्रहरीसँग सम्बन्धित बुँदाहरु कार्यान्वयन गरिने आइजीपी खनालले बताए ।
कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहलाई लाईफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरियो । शाहले २०३५ सालमा प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गरि प्रहरी संगठनमा ३० वर्ष बिताएका थिए । यसैगरी कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाउने वीर प्रहरीका परिवारलाई पनि राहत तथा सम्मान वितरण गरिएको थियो ।