काठमाडौं असोज, २१–
सशस्त्र प्रहरी बल कमाण्ड तथा ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’ संचालन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चौंथो समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’ को आइतबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले गहन अध्ययन र परिश्रमबाट उक्त कोर्षको प्रवेश परिक्षामा उत्तीर्ण भई सो कार्षमा छनोट भएकोमा परिक्षार्थी अधिकृतहरूले गर्व गर्नुपर्ने चर्चा बताए ।
एपीएफ अधिकृतहरुको व्यावसायिक क्षमता र योग्यतामा अभिवृद्धि गरि भविष्यमा संगठनको नेतृत्व गर्नसक्ने सक्षम अधिकृत उत्पादन गर्ने उद्देश्यले सो स्टाफ कलेज स्थापना भएको उनको भनाइ छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेज आफ्नो उद्देश्य प्राप्तिको दिशामा प्रभावकारी ढंगले अगाडी बढिरहेको जनाए ।
उक्त अवसरमा त्रिभुवन विश्वविद्यालय (मानविकी तथा समाजशास्त्र) का डिन शिवलाल भुसालले यस्ता कोर्षले एपीएफ अधिकृतको ज्ञान र क्षमतामा अभिवृद्धि हुने चर्चा गर्दै कोर्ष उपयोगी रहेको उल्लेख गरे ।
सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक संयोजक अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले पनि मन्तव्य दिएका थिए ।
१८ महिना अवधिको उक्त कोर्षमा कूल १२ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सहभागी रहेका छन् ।