२० असोज, काठमाडौं–देशकै जेठो वीर अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या अघिल्लो वर्षको भन्दा यस वर्ष एक लाख बढेको छ । यस वर्ष बहिरंग सेवामार्फत चार लाख १२ हजार नौजना बिरामीले सेवा लिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अस्पतालमा नयाँ–नयाँ भवन बन्दै छन् भने अत्याधुनिक उपकरण जडान कार्य अघि बढेको छ । तर, सो कार्यमा कर्मचारीले असहयोग पु-याउँदै आएका छन्, जसका कारण नेपालमै पहिलोपटक भित्र्याइएको इन्ट्रा–अप्रेटिभ सिटिस्क्यान मेसिन जडान हुन सकेको छैन । अर्जुन अधिकारीको रिपोर्टस्
अस्पतालका अनुसार उपकरण सञ्चालनमा ल्याउन नसक्दा तीन महिनामा एक सयभन्दा बढी न्युरोका बिरामी सेवा लिनबाट वञ्चित भएका छन् । वीर अस्पतालमा उपचार गर्न आउने अधिकांश बिरामी गरिब तथा विपन्न वर्गका हुने गरेका छन् ।
इन्टा–अप्रेटिभ सिटिस्क्यान मेसिन सर्जरी बेडमै जडान गरिएको हुन्छ । यसले आवश्यक परेको अवस्थामा सोही बेडबाट अप्रेसनकै समयमा सिटिस्क्यान गर्दछ ।
अस्पताल उच्च स्रोतका अनुसार यो उपकरणमा सेवा लिन निजीबाट समेत बिरामी आउने भएकाले आर्थिक प्रलोभनमा परेर वीरमा सेवा प्रभावित बनाउन तल्लोस्तरका केही कर्मचारी कस्सिएर लागेका छन् ।
यस्तो सेवा बाहिर लिए एकपटक सिटिस्क्यान गरेको मात्रै एक लाख रुपैयाँभन्दा बढी शुल्क लाग्छ । तर, वीर अस्पतालले बढीमा तीन हजार रुपैयाँ लिँदै आएको कुरा बताएको छ ।