धनगढी असोज, १९–
धनगढी उपमहानगरपालिका–१६ का ७० वर्षीय जोखन डगोरा थारूलाई बोक्सोको आरोप लगाई दुव्र्यवहार गरिएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । २ असोजमा उनलाई सोही ठाउँका ५५ वर्षीय भीख्खु चौधरीले जोखनका कारण खेतमा लगाएको धानमा कीरा लागेको भन्दै दुव्र्यवहार गरेको जोखनका छोरा पदमले बताए ।
‘बुबा ९जोखन० खेतमा रहेको नालामा राँगालाई पानी खुवाउँदै थिए, भीख्खु त्यहीँ पुगेर बुबालाई पटकपटक पानीमा चोब्न थाल्यो,’ उनले भने, ‘त्यसपछि चौराहमै ल्याएर बुबालाई नांगेझार पारियो ।’
एउटै समाजमा बस्नुपर्छ भनेर सुरुमा पीडित परिवार चुपचाप बस्यो । तर उनलाई जहाँ देख्यो त्यही बोक्सो भनेर मारिदिने धम्की दिन थालेपछि नजिकै रहेको कनरी प्रहरी चौकीमा गएर उजुरी दिएको छोरा पदमले बताए ।
अहिले भीख्खु प्रहरी नियन्त्रणमा छन् । तर, राजनीतिक दलको दबाबमा छुटाउने प्रयास भइरहेको बताउँदै उनले कानुनबमोजिम सजाय हुनुपर्ने माग गरे ।