काठमाडौं असोज, १६–
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्टलाई भोट दिएकाहरु पछुताएको बताएका छन् । सरकारले मुलुकमा स्थिरता र शान्ति सुव्यवस्था कायम गर्न नसकेको आरोप भन्दै जनताले बरु कांग्रेसै ठिक भन्न थालेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे नेता सिंहले कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले अहिले पश्चाताप गरेको प्रष्ट पारे ।
उनले भने,‘जनतालाई स्थिरता दिन्छु भन्ने सरकारको स्थिरता पनि देखियो।’ उनले दुई तिहाई बहुमतको सरकारले हत्या, हिंसा, बलात्कारका घटना रोक्न नसकेको भन्दै चर्को आलोचना गरे। सिंहले मुलुकको पछिल्लो अवस्थालाई तत्कालीन माओवादी जनयुद्धको त्राससँग तुलना गरे।
महंगी धेरै बढेको र सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले जनताहरु छटपटाइरहेको उनले बताए। सिंहले भने,‘कांग्रेस यस्तै हो, एकपटक त कम्युनिष्टलाई सत्ता दिएर हेरौं भनेको, सत्ता त दिएर हेरियो, तर हाल कस्तो भइरहेको छ। छटपटी सबैलाई भइरहेको छ। जनताले अब कांग्रेस नै ठीक भन्न थालिसके।’
उनले कांग्रेसलाई सक्षम र प्रभावकारी पार्टी बनाउन आन्तरिक तयारी सुरु गरिसकेको बताए। उनले भने,‘अब यो पार्टीलाई समृद्धिको अभियानमा, आर्थिक क्रान्तिमा फिट गर्नका लागि हामीले आन्तरिकरुपमा अभ्यास सुरु गरेका छौं। आउँदा चुनौतीहरुलाई सामना गर्न सक्ने सक्षम, प्रभावकारी पार्टीको रुपमा कांग्रेसलाई तपाईंहरुले चाँडै पाउनु हुनेछ।’