बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानकाबीच सम्झौता

शुक्रबार, असोज १२ २०७५

काठमाडौं असोज, १२–
आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुको हितलाई मध्यनजर गर्दै नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानकाबीच एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस समझदारीपत्र अनुसार सहयोग आवश्यक रहेको भनी तिलगंगा आँखा प्रतिष्ठानद्वारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठानमार्फत गत वर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएकोमा थप दुई वर्षको लागि उक्त सहयोग उपलब्द गराउने सम्झौता भएको छ । यस कार्यक्रमलाई ‘नबिल फाउण्डेशनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि’ भनी सम्बोधन गरिएको छ । 
तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा, काठमाडौंमा आयोजित एक समारोहकाबीच नबिल फाउण्डेशनका तर्फबाट अध्यक्ष दयाराम गोपाल अग्रवालले र तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट डा.श्री रीता गुरुङ्गले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे  । उक्त समारोहमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुईत, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्याल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा दुबै संस्थाका अन्य पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो । 
सो कार्यक्रममा नबिल फाउण्डेशनका अध्यक्ष दयाराम गोपाल अग्रवालले आँखा दान र प्रत्यारोपण जस्तो यस पवित्र अभियानमा फाउण्डेशनले केही सहयोग विस्तार गर्न सकेकोमा सन्तुष्टी व्यक्त गरे  । नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिलल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नका लागि नै नबिल फाउण्डेशनको स्थापना भएको र तिलगंगा आँखा प्रतिष्ठान जस्तो सम्मानित संस्थासँग सहकार्य गर्न पाउँदा गौरवको अनुभुति भएको समेत उनले बताए । 
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा.  रीता गुरुङ्गले मानिसहरुलाई दृष्टिविहीन हुनबाट जोगाउन तिलगंगा आँखा प्रतिष्ठानले अनवरत प्रयास गरी रहेको र यसमा अझै धेरै कार्य गर्न बाँकी रहेको सन्दर्भमा नबिल फाउण्डेशनले यस पवित्र कार्यमा सहयोगका हातहरु अघि बढाएको भन्दै सहयोगको प्रशंसा गरिन् । साथै, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुईतले समेत फाउण्डेशनको यस कार्यको सह्राना समेत गरे ।