मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित

बिहिबार, मंसिर २१ २०८०

काठमाडौं- अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक, डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारबाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित सो पुरष्कारबाट सम्मानित हुने डा अधिकारी पहिलो गैरआवासीय नेपाली हुन । नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गरेको सो पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा अधिकारीको तर्फबाट ग्रहण गरे ।

स्वदेश तथा विदेशमा विज्ञान तथा प्रविधिको विकासमा निरन्तर लागि सीप,ज्ञान र नवप्रवर्तन कार्यमा संलग्न भई योगदान पुर्याउनु भएका डा अधिकारी सो पुरस्कारबाट सम्मानित भएका हुन । स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नविन प्रकारका वातावरणमैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नविन प्रविधि विकास गर्नुका साथै विदेशमा रही नेपाल साइन्स फाउन्डेशन ट्रष्ट लगायतका संस्था मार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिष्ठान अनुसन्धान केन्द्रहरुसंग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा मुख्य योगदान रहेको छ ।

दाङको देउखुरी मुसुरियाका डाक्टर अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ र आरएमआईटी विश्वविद्यालय प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत रहेका छन् । डा अधिकारीका २६ ओटा पेटेन्टहरु दर्ता छन् । एक सय भन्दा बढी अनुसन्धानात्मक सामाग्री प्रकाशित छन् । उहाँले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ ।

उनले सन् १९८७ देखि १९९१ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (नाष्ट) को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुखको रुपमा पनि काम गरेका थिए । गैरआवासीय नेपाली संघले प्रवासमा रहेका वैज्ञानिक प्रतिभाहरुको सीप र क्षमता नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले सन् १९९७ मा सीप, ज्ञान तथा नव प्रवर्तन (एसकेआई) कमिटि गठन गरेको थियो ।