बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजबाट काठमाडौं उपत्यकामा निजी तथा भाडाका सवारीमा जोर–विजोर प्रणाली लागु

बुधबार, भाद्र १३ २०७५

काठमाडौं भदौ, १३–
आजबाट काठमाडौं उपत्यकामा चल्ने निजी तथा भाडाका सवारीमा  ३  दिन जोर–बिजोर प्रणाली लागू भएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म यो नियम लागू भए पनि अन्य समयमा भने पूर्ववत रुपमा सवारी साधन सञ्चालन हुनेछन् ।

ट्राफिक प्रहरी महाशाखाले बिमस्टेक शीखर सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई ध्यान दिँदै  १३, १४ र १५ गते ३ दिन सवारीमा जोर–बिजोर प्रणाली लागू गरेको हो । जोर गतेको दिन जोर नम्बरका गाडी र बिजोर गतेको दिन बिजोृर नम्बरको गाडी गुडाउन मिल्ने नियम बनाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाले सवारीको पछाडिको अंकको आधारमा जोर–बिजोर निर्धारण गरेको छ । सवारीको पछाडि ०, २, ४, ६, ८ अंक भएका सवारी जोर हुन् भने पछिल्लो अंक १, ३, ५, ७ र ९ भएका सवारी बिजोर ।

निजी तथा भाडाका सवारीमा जोर बिजोर प्रणाली लागू भए पनि अत्यावश्यकीय सेवासँगै प्रेस, सरकारी तथा बिमस्टेकमा निम्त्याइएका पाहुनालगायतकोे हकमा भने यो नियम लागू हुने छैन ।

जोर–बिजोर प्रणाली लागू भएको पहिलो दिन आज बिजोर नम्बरका सवारीलाई मात्र आवतजावत गर्ने अनुमति ट्राफिक प्रहरी महाशाखाले दिएको छ ।

एकाधले नियम उल्लंघन गरे पनि आज बिहानैदेखि सडकमा बिजोर नम्बरका मात्रै गाडी गुडेको महाशाखाको भनाइ छ । बिजोर नम्बरका मात्रै सवारी गुड्दा उपत्यकाको सवारी आवागमन अघिल्ला दिनको तुलनामा केही सहज भएको छ ।

भोलि १४ गते बिहिबार भने   जोर अंकका सवारी मात्रै उपत्यकाका सडकमा गुडाउन पाइने छ । शुक्रबार भने बिजोर अंकका सवारी चल्ने महाशाखाले जनाएको छ ।

अत्यावश्यकीय सेवा, आवश्यक कार्य जस्तै बिरामी, विद्यार्थीको परीक्षा, एयरपोर्ट टिकेट भएकाहरुको हकमा भने यो प्रणाली लागू हुनेछैन । त्यसैगरी कूटनीतिक नियोगका सवारी साधन, सूचना विभागबाट प्रेस पास लिएका पत्रकारहरुमा पनि जोर–बिजोर प्रणाली आकर्षित हुनेछैन ।