बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रकाण्डलाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

आइतबार, भाद्र ३ २०७५

काभ्रे भदौ, ३–
विप्लव नेतृत्वको नेकपाका  प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थप ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

काभ्रेमा क्रसर उद्योग आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानका लागि समय लिन आइतबार अदालत पेश गरेको थियो ।

प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतको आदेशमा छुटेलगत्तै शुक्रबार पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा अदालत पेश गर्न लागिएको छ ।  उनलाई काँग्रेस नेता कुन्साङ लामाको क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा काभ्रे जिल्ला अदालतमा पेश गर्न लागिएको हो । 

क्रसर उद्योगमा आगजनी गरेको अभियोगको प्रकाण्डलाई मुद्दा, अदालतमा पेश गर्ने तयारी

अदालत परिसरमै पक्राउ परेका प्रकाण्डलाई प्रहरीले काभ्रे जिल्ला अदालतमा पेश गर्न लागेको हो । आगजनी मुद्दामा पक्राउ परेका नेकपाका पोलिटब्युरो सदस्य कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जीवन्त) समेतलाई प्रतिवादी बनाएर संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले प्रकाण्डलाई पनि सोही मुद्दामा मुछेको हो ।

काभ्रे जिल्ला अदालतले बिश्वकर्माविरुद्ध गत जेठमा वारेन्ट जारी गरेको थियो । काठमाडौं प्रहरीले चन्दा असुलेको आरोपमा गत साता उनलाई पक्राउ गरेकोमा सर्वोच्च अदालते शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा छाड्ने आदेश दिएको थियो । लगत्तै अर्को मुद्दामा प्रहरीले उनलाई पक्राउ गरिएको थियो ।

कांग्रेस नेता लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत बैशाख १ गते नेकपाका कार्यकर्ताहरुले आगजनी गरेका थिए । आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको थियो । आगलागीमा झन्डै १० करोडको क्षती पुगेको पीडितको दाबी छ । प्रकाण्डकै नेतृत्वमा आगजनी भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो । बिश्वकर्मा पूर्व मन्त्री समेत हुन् ।

काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले पक्राउ परेका तीनजनालाई संगठित अपराधमा म्याद लिएर अनुसन्धान हुने बताएका छन् । यसअघि नै पक्राउ परेका धमला र कार्की बिरुद्ध अनुसन्धान भईरहेको खड्काले जानकारी दिए । प्रकाण्डलाई प्रहरीले पुनः पक्राउ गरेर शुक्रबार राती काभ्रे प्रहरीलाई बुझाएको थियो ।