बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खनेर सकियो सुरुङको ‘रेड जोन’

मंगलबार, साउन २९ २०७५

२९ साउन, काठमाडौं– भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको खतरा मानिएको क्षेत्रमा सुरुङ खन्ने काम सकिएको छ । सुरुङको ‘रेड जोन’ पार गरिएसँगै समयमै काम सकिने आयोजनाले जनाएको छ ।

भेरी–बबई सुरुङको मध्यभागमा तोलीखोला क्षेत्र पर्छ । यहाँबाट भेरी र बबई ६ किलोमिटरको दूरीमा छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तोली खोलामुनिको यो भागलाई ‘रेड जोन’का रूपमा लिइएको थियो । ‘तोलीखोला क्षेत्र माटैमाटोको भएकाले पानी निस्कने अनुमान थियो,’ आयोजनाका वरिष्ठ डिभिजन इन्जिनियर रुक्मांगत खनालले भने, ‘चुनौतीपूर्ण ठानिएको एरिया पार गरेका छौँ । अब सजिलोसँग काम हुन्छ ।’

टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरी भेरी–बबई डाइभर्सनको सुरुङ खन्ने काम भइरहेको छ । सोमबार बिहानसम्म ६ किमि आठ सय मिटिर सुरुङ खनिएको वरिष्ठ डिभिजन इन्जिनियर खनालले बताए ।

यो सुरुङ १२ किलोमिटर लामो हुनेछ । तोलीखोला क्षेत्र पार गरेपछि दैनिक ३५ देखि ४० मिटरसम्म सुरुङ खन्ने काम भइरहेको उनले बताए । गत कात्तिकबाट टिबिएम प्रयोग गरेर सुरुङ खन्न थालिएको हो ।