बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

क्रिकेटका महारथीहरूसँग पहिलो पटक सामना गर्दै नेपाल

बुधबार, भाद्र १३ २०८०

काठमाडौं । नेपालले क्रिकेटका महारथीहरूसँग बुधबार प्रत्यक्ष सामना गर्दै छ।

नजिकको छिमेकी भएपनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउने अवसर मिलेको थिएन ।

एसिया कपको १६ औँ शृङ्खलामा आइपुग्दा भने नेपाले पहिलो पटक यी देशका क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर जुरेको छ ।

एसिया कप क्रिकेटको पहिलो खेलमा आज नेपालले विश्व नम्बर १ टोली पाकिस्तानविरुद्ध खेल्दै छ ।

नेपाल र पाकिस्तानविरुद्धको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा आज दिउँसो ३ः४५ बजे हुनेछ ।

नेपाली क्रिकेट इतिहासमा पहिलोपटक कुनै पनि वरीयता शीर्ष टोलीसँग खेल्न लागेको हो । पाकिस्तान गत शनिबार अफगानिस्तान विरुद्धको तीन खेलको ओडिआई सिरिज क्लिनस्वीप गर्दै शीर्ष स्थानमा उक्लिएको थियो ।

यसअघि नेपालले वरीयताको हिसाबमा खेलेको सबैभन्दा ठूलो टोली वेस्टइण्डिज हो । दुई महिना अघि जिम्बावेमा नेपालले वेस्टइण्डिजविरुद्ध खेलेको थियो । आइसिसी विश्व ओडिआई वरीयतामा त्यस समय वेस्टइण्डिज १०औँ र नेपाल १४औँ स्थानमा थिए । त्यसलगत्तै नेपालले ११औँ स्थानमा रहेको जिम्बावेसँग पनि खेलेको थियो ।

गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।

नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलंकामा खेल्नेछ । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।
एसिया कप यो वर्ष ५० ओभरको हुनेछ । श्रीलंकाले एक वर्षअघि टी-२० ढाँचामा जितेको थियो ।

प्रत्येक समूहका शीर्ष दुई टोलीले सेप्टेम्बर १७ मा कोलम्बोमा हुने फाइनल स्पर्धा गर्नेछन् भने शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् ।