काठमाडौँ – कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर राखेर गरिएको दाबीको कांग्रेस नेता शेखर कोइरालाले विरोध गरेका छन्।
बिहीबार कांग्रेसकै उद्धव थापाले गठबन्धनका तर्फबाट गरेको दाबीमा माओवादीका सांसदका रुपसमा सभामुख गौतमको समेत नाम समावेश गरिएपछि नेता कोइरालाले संसदीय मूल्य मान्यताविपरीत जान नहुने बताएका हुन्।
कोइरालाले सामाजिक सञ्जालमा मार्फत भने, ‘सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त विपरित हुन जान्छ।’
सरकार दाबीमा सभामुखलाई समावेश गर्ने कुराले संवैधानिक भूमिका र निष्पक्षतामाथि प्रश्न उठेको कोइरालको भनाइ छ।
‘सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु हो, कोइरालाले अगाडि भने, ‘यदि संसदमा पेस भएका बिषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, बिघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरित हुन जान्छ।’
कांग्रेसका थापाले प्रदेश प्रमुख परशुराम खापुंग समक्ष मुख्यमन्त्रीका लागि बिहीबार साढे ४ बजेपछि दाबी पेश गरेका थिए। ९३ सदस्य प्रदेशमा थापाले कांग्रेसको २९, नेकपा माओवादीको सभामुख बाबुराम गौतमसहित १३, एकीकृत समाजवादीको ४ र जसपाको १ गरि ४७ जना संख्या पुराएर सरकारको दाबी गरेका हुन्।