बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरी प्रधान कार्यालयमै अड्डा जमाएका जुनियर प्रहरी अधिकृतको यस्तो दादागिरी

मंगलबार, असार १२ २०७५

१२ असार, काठमाडौं–प्रहरी महानिरीक्षक हुनसाथ सर्वेन्द्र खनालले पाँच वर्षभन्दा बढी समय प्रधान कार्यालयमै कार्यरत अधिकृत तथा जवानहरूलाई तत्काल सरुवा गर्ने नीति लिए पनि खासै सफल देखिएका छैनन् ।

कर्मचारीहरू बेलाबेला हेरफेर गर्दा सञ्जालमा भ्रष्टहरू झाँगिन नपाउने र सेटिङ भत्किने विश्वास अपेक्षा गरिएको भएपनि जरो गाडेर बसको केही अधिकृतका कारण त्यो सफल नहुने देखिएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

प्रधान कार्यालयमा रहेका त्यस्ता कर्मचारीहरूको प्रारम्भिक अभिलेख राखी सरुवा गर्ने रणनीति बनाइएको थियो । उनीहरूलाई त्यहाँबाट अन्यत्र काज खटाउने निर्णय त भयो, तर काज खटाएको ठाउँमा अझै रमाना दिने काम भएको छैन ।

त्यस्ता कर्मचारीहरूले १० तिरको पावर भिडाउने, अनावश्यक चलखेल गर्ने र चौतफी दबाब दिन सुरु गरेपछि निरीह भएको र ती १८ जनालाई खटाउन नसकिएको बताइएको छ । सुरक्षा महाशाखामा रहेको केही सइहरूले पूर्व प्रधानमन्त्रीदेखि प्रहरीकै एआइजीहरूको समेत सोर्स लगाउन थालेका छन् ।

प्रशासन विभागअन्तर्गत भण्डार शाखाका सई एकराज भट्ट २० वर्षदेखि अनवरत रूपमा सोही शाखामा कार्यरत कर्मचारी हुन् । उनले त्यहाँ बसेरै करोडौं आर्जन गरेर काठमाडौं राम्रो अतिरिक्त आम्दानी गरेको बताइएको छ । उनले प्रहरीको लत्ताकपडा तथा अन्य बन्दोबस्तीको सामान टेन्डर आह्वान गर्ने बेलामा राम्रो आर्थिक चलखेल गर्ने गरेको पुष्टि भएको छ ।

उनले टेन्डरका बेला विभिन्न नमुना कपडा तथा सामानहरू उपलब्ध गराएर ठेकेदार कम्पनीबाट पैसा असुल्ने गरेको बताइएको छ । त्यस्तो बेला एक मिटर कपडाको टुक्राको नमुना लिनुपरेमा कम्तीमा १० हजार रुपैयाँ भट्टलाई बुझाउनुपर्ने पीडितहरू बताउँछन् । त्यस्तै, आन्तरिक लेखापरीक्षण शाखा आलेपमा कार्यरत सई ज्ञानबहादुर खड्काको पनि धन्दा यस्तै रहेको प्रहरी स्रोतको दाबी छ ।

सबै कार्यालयको लेखापालको खटनपटन हुनुअघि नै सूचना दिएर चलखेलको मौका दिने काममा खड्काको सहयोगी भूमिका रहेको बताइएको छ । सरुवा हुनेवाला लेखापालको नाम टाइप गर्ने बेलामा नै खड्काले सूचना चुहावट गर्ने र आफूले मिलाइदिएको भन्दै पैसा पनि असुल्ने गरेको बताइएको छ । उनले नै माथिल्लो दर्जाका अधिकारीलाई कमिशन उठाएर दिने गरेको पनि स्रोतको दावी छ ।

खड्काको दरबन्दी अपराध अनुसन्धान विभागमा भए पनि केही प्रहरीका घुस्याहा हाकिमका आशीर्वादका कारण उनलाई आन्तरिक लेखापरीक्षण शाखाजस्तो संवेदनशील स्थानमा राखिएको बताइएको छ । विगत १० वर्षदेखि सोही स्थानमा कार्यरत उनले पनि काजको रमाना लिन नमानेको बताइन्छ ।

पछिल्लो समय आफैं विवादमा मुछिएका आईजी खनालालाई असफल बनाउन सचिवालयका कर्मचारीहरू नै लागेको बताइन्छ । पछिल्लो समय उनको सचिवालयबाटै रणनीतिक कुराहरूका साथै सरुवा बढुवाको कुरा पनि चुहावट हुन थालेको छ ।

प्रहरीका संवेदनशील सूचनाहरू कार्यान्वयनमा आउनु अगावै विभिन्न निकाय तथा शंकास्पद व्यक्तिहरूको हातमा पुग्ने र त्यसका आधारमा चलखेल हुन थालेपछि प्रहरी अधिकारीहरू हैरान भएका छन् ।

कसरी यस्तो हुन्छ भनेर अधिकारीहरूले अनुसन्धान गर्दा सूचना आईजीको सचिवालयबाटै चुहावट हुने गरेको खुलेको भएपनि कसले चुहायो भन्ने विषयमा केही खुलेको छैन । सई राजकुमार श्रेष्ठ पनि लामो समयदेखि प्रहरी प्रधानकार्यालमै छन उनको सरुवा भक्तपुरमा भए पनि उनी जान मानिरहेका छैनन् ।

आइजीले संगठनको हितमा ल्याएको यस्तो कार्यक्रम लागु नगर्दा आईजी असफल हुने निश्चित रहेको प्रहरी मूख्यालयमा चर्चा चल्न थालेको छ । त्यसो त आईजीले अपेक्षा गरेअनुसार कुनै पनि काम गर्न नसकेपछि व्यावसायिक भनिएका उनको हैसियत पनि राम्ररी देखिएको भन्दै काठमाडौमा खटिएका र काठमाडौबाहिर जिल्लामा खटाइएका कर्मचारीहरूको विषयमा टिकाटिप्पणी शुरु हुन थालेको छ ।