बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भारतका उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीले भने : खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सहयोग गर्छ

शुक्रबार, जेष्ठ १९ २०८०

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । विहीबारसाँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको विजनेश समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् ।

सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको बताए । । उनले सरकारले लगानीकर्ताको हितका लागि एकल विन्दु सेवा केन्द्र, लगानीमैत्री कानुन तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको उल्लेख गरे ।

निजी क्षेत्रलाई बलियो र शक्तिशाली सहयोगीका रुपमा सरकारले चित्रण गर्दैसँगै साथमा लिएर जाने प्रतिबद्धता गरेको तथा सोहीअनुसारको वातावरणसमेत बनाएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भारतीय कम्पनीले नेपालमा गरेको लगानीले दिएको प्रतिफलको बारेमा जानकारी गराए ।

नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्दै उनले नेपालमा लगानीकर्ता प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं जनस्तरको सम्बन्धले थप सहज बनाउने बताए ।

भारतीय कम्पनीको लगानी रहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफलरुपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पश्चिम सेती, सेती नदी (एसआर ६), तल्लो अरुणलगायतका आयोजनाले दुवै देशको अधिकतम हित गर्ने बताए ।

उनले विहीबार बिहान आफ्ना भारतीय समकक्षीसँग नेपालको बृहत्तर हितका विषयमा महत्वपूर्ण छलफल भएको र त्यसले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको उल्लेख गरे । समग्र विषयमा खुला हृदयका साथ छलफल भएको र त्यसबाट दुई देशबीच रहेका साझा विषयमा समाधान धारणा बनेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । नेपाल र भारतबीचको सम्बन्ध कोही कसैसँग तुलना नै हुन नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास र नेपालको समुन्नतिका लागि आफूहरु मिलेर अगाडि बढ्नुपर्ने बताए ।

भारतीय उद्योग परिसङ्घका सभापति आर दिनेशले नेपाल र भारतका उद्योगी व्यवसायीबीच साझा दृष्टिकोण निर्माण गरेर अगाडि बढ्ने उद्देश्यका साथ आज महत्वपूर्ण छलफलको आयोजना गर्न पाउँदा खुसी लागेको बताउनुभयो । कार्यक्रममा नेपाल र भारतका उद्योगी व्यवसायीको सहभागिता थियो ।