बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रभु समूहको ‘टि.भि’ सञ्चालनमा, नेपालमै पहिलोपटक पोर्टेबल टेलिभिजनको सुरु

आइतबार, असार ३ २०७५

काठमाडौं असार, ३–
प्रभु समूहले नेपालमै पहिलोपटक केबल, छाता र एन्टिनाबिना नै पोर्टेबल टेलिभिजन सञ्चालनमा ल्याएको छ । आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रभु टि.भिको शुभारम्भ गरिएको हो । प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनले उक्त टेलिभिजनको सुभारम्ब गरेका हुन् । टेलिभिजन शुभारम्ब कार्यक्रममा बोल्दै अध्यक्ष भट्टचनले आफूहरुले पहिले पहिले हाम्रा बुवा बाजेले हेर्ने एनालग प्रविधिलाई नयाँ प्रविधिको विकास गर्न सफल भएको बताए । उनले यस्तो खालको प्रविधि शुभारम्ब गर्ने नेपाल दक्षिण एशियाकै पहिलो मूलुक भएको दाबी समेत गरे । नेपालले प्रविधिमा निकै फड्को मारेको भन्दै अध्यक्ष भट्टचनले अरु मूलुकमा यस्तो प्रविधिमा थोरै मात्रै च्यानल हेर्न सकिने तर, आफूहरुले दिएको सेवामा २७ वटा एचडी च्यानल हेर्न सकिने भन्दै भविष्यमा अझैं थप्दै जाने आफूहरुको योजना रहेको बताए । उनले सरकारले एनालग प्रणालीलाई हटाउने तयारी गरिरहेकाबेला डिजिटल प्रणाली केवल हुनेखानेका लागि मात्रै सम्भव रहेको मानिसहरुलाई लागिरहेका बेला गरिबहरुले पनि सस्तोमा डिजिटल च्यानल हेर्न सकुन भनेर आफूहरुले यो प्रविधि सञ्चालनमा ल्याएको जानकारी गराए । यतिबेला फुटवलको कुम्भ मेला लागिरहेकाबेला अरुले दिईरहेको सर्भिस भन्दा आफूहरुले दिने सर्भिस निकै फरक रहेको उनको भनाई छ । आजैदेखि सञ्चालनमा आएको यो सेवा पहिलो चरणमा काठमाडौं, चितवन र पोखरामा सञ्चालनमा ल्याईएको छ । निकट भविष्यमै पूर्वाञ्चल, बुटवल, नेपालगञ्ज,कोहलपुरमा समेत प्रशारणमा ल्याईने जनाईएको छ । प्रभु टि.भिले बादबालिका सम्बन्धि, चलचित्र, खेलकुद, संगीत, मनोरञ्जन तथा सूचनामूलक नेपाली तथा अन्तराष्टिय च्यानल लगायत विभिन्न प्रकारका अन्य च्यानल समेत प्रस्तुत गर्ने जनाएको छ । ग्राहकको सुविधालाई ख्याल गरेर एकल प्रयोगकर्ताको लागि महिनाको शुल्क १६०० तथा सेटअप बक्स वापत १००० तथा संस्थागत प्रयोगकर्ताहरु लाई मासिक २०० तथा सेटअप बक्स वापत ८०० पर्ने प्रभु टिभिले जनाएको छ । प्रभु समूहले यसअघि बैंकिङ्ग, विमा, क्यापिटल मार्केट, हेलिकप्टर, व्यवस्थापन र सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको छ ।