मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाहरुका लागि देशमै पहिलोपटक रियालीटी शो आयोजना हुने

शुक्रबार, बैशाख २९ २०८०

काठमाडौं – एएनपी मिडिया हाउसले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाहरुका लागि देशमै पहिलोपटक रियालीटी शो आयोजना गर्ने भएको छ । विभिन्न प्रतिभा तथा सौन्दर्यमूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले बालबालिकामा अन्र्तनिहीत गायन र नृत्य प्रतिभालाई बाहिर ल्याउनका लागि पहिलोपटक बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालीटी शोका नाममा गायन र नृत्यको रियालीटी शो आयोजना गर्न लागेको हो । आयोजक संस्था एएनपी मिडिया हाउसका सिइयो लबबहादुर कार्कीले शहर केन्द्रित रियालीटी शो भईरहेको समयमा गाउँगाउँका अवसरबिहीन गायन र नृत्य प्रतिभालाई अवसर र मञ्च प्रदान गर्नका लागि यो रियालिटी शो आयोजना गर्न लागिएको बताए । ‘अहिलेका बालबालिकामा सानैदेखि फरकस्तरको लोभलाग्दो गायन र नृत्य प्रतिभा पाइन्छ । त्यस्ता वास्तविक प्रतिभा अवसर र मञ्च पाउनबाट वञ्चित हुँदै आएका छन् । तीनै वास्तविक प्रतिभाको खोजीका लागि पहिलोपटक प्रदेशस्तरमा बागमती गट ट्यालेन्ट सिंगीङ एन्ड डान्स रियालीटी शो गर्न लागिएको हो’ कार्कीको भनाई छ ‘यसका लागि हामी वागमती प्रदेशका नौ स्थानमा पुगेर वास्तविक प्रतिभाको खोजी गर्नेछौँ । पहिलोपटक बागमती प्रदेशमा रियालीटी शो गरिसकेपछि चरणवद्धरुपमा बाँकी ६ प्रदेशका प्रतिभाका लागि पनि यसप्रकारको रियालीटी शो गर्ने योजना छ ।

रियालीटी शोका लागि धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौंमा चरणवद्धरुपमा अडिसन गरिने भएको छ । नौ स्थानको अडिसनबाट चुनिएका प्रतिभालाई काठमाडौंमा ल्याएर डिजीटल अडिसन गरिनेछ भने त्यसबाट चुनिएकाहरुलाई रियालीटी शोमा सामेल गरिनेछ। रियालीटी शोको अन्तिम स्पर्धाबाट गायन र नृत्य विधामा विजयी बागमती गट ट्यालेन्टलाई पुरस्कारस्वरुप जनही नगद एक लाख रुपैया तथा फस्ट रनर्सअपलाई जनही ३० हजार र सेकेन्ड रनर्सअपलाई जनही २० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएका छन् । अडिसनको शुरुवात धादिङबाट भईसकेको छ भने भोलि वैशाख ३० गते शनिवार चितवनमा अडिसन हुने आयोजक कार्कीले जानकारी गराए। उनका अनुसार रियालीटी शोमा आठदेखि १३ वर्षका बाल प्रतिभालाई सामेल गरिने छ ।

बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालीटी शो ख्यातिप्राप्त अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल तथा ख्यातिप्राप्त गायक गायिकाद्वय आनन्द कार्की र देविका वन्दनाको मार्गदर्शनमा हुन लागेको हो । अभिनेत्री मिथिला शर्माले यो रियालीटी शो गायन र नृत्यको क्षेत्रका लागि नयाँ आयाम हुने बताइन् । अभिनेत्री गौरी मल्लले यसबाट देशले नव प्रतिभा पाउने विश्वास गरिन् । गायक आनन्द कार्कीले लुकेर रहेका प्रतिभाका लागि यो सुनौलो अवसर हुने बताए। गायिका देविका बन्दनाले गाउँगाउँमा लुकेर रहेका प्रतिभा यो रियालीटी शोबाट बाहिर आउने विश्वास व्यक्त गरिन् । राष्ट्रिय टेलिभिजनबाट प्रसारणमा आउने रियालीटी शोमा निर्देशन लबबहादुर कार्कीको रहनेछ भने कार्यक्रम संयोजक राजेन्द्र लुईंटेल, इभेन्ट संयोजक शम्भुप्रसाद रेग्मी, इभेन्ट व्यबस्थापक ए तामाङ र भिजन संयोजक डेभिल राजपुत रहेका छन् ।