बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउमा देशभर विरोध र प्रदर्शन

बुधबार, बैशाख २७ २०८०

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। उनलाई पाकिस्तानी प्यारामिलिटरी फोर्सले इस्लामावादस्थित उच्च अदालत परिसरबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । इस्लामावाद प्रहरीको आधिकारिक ट्वीटर अकाउन्टका अनुसार खानलाई अल कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको हो । खान आफूविरुद्ध दर्ता भएको मुद्दामा जमानत लिन अदालत पुगेका थिए ।

इस्लामावादको हाई कोर्टमा उनीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइमा उपस्थित हुने क्रममा अदालतको गेटबाट खानलाई ठूलो संख्यामा रहेका उक्त फोर्सले अपहरण शैलीमा पक्राउ गरेको उनको पार्टी पिटिआईले जनाएको छ । उक्त समयमा पिटिआईका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । सो क्रममा आफ्ना कार्यकर्ता र वकिलहरूसमेत घाइते भएको पिटिआईले दाबी गरेको छ । खानले भने आफूमाथिको भ्रष्टाचार आरोपलाई राजनीतिक रूपमा प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका थिए ।

गतवर्ष अप्रिलमा प्रधानमन्त्रीको रूपमा विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएका खान आगामी निर्वाचनका क्याम्पेनमा अघि बढिरहेका थिए। खान दुईवटा मुद्दामा जमानतका लागि उच्च अदालत पुगेका थिए । हालै इमरानले इन्टेलिजेन्सका शीर्ष अधिकारीहरूलाई वजिरावादमा उनको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाएका थिए पाकिस्तानी सेनाले यो आरोपको खण्डन गरेको छ । यसपछि इमरानले मंगलबार बिहान एक भिडियो सार्वजनिक गर्दै फेरि आरोप दोहोर्याउनुभएको थियो । उक्त भिडिओ सार्वजनिक गरेको चार घण्टापछि उनलाई पक्राउ गरिएको हो ।

७१ वर्षीय खानले यसअघि गत वर्ष नोभेम्बरमा पञ्जाब प्रान्तको वजिराबादमा प्रधानमन्त्री शेहबाज शरिफ, आन्तरिक मन्त्री राणा सनाउल्लाह र जनरल नसिरमाथि आफ्नो हत्याको प्रयास गरेको आरोप लगाएका थ्।ि यस आक्रमणमा उनको खुट्टामा तीनवटा गोली लागेको थियो । खान पक्राउ परेसँगै उनको पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ भने देशका विभिन्न सहरमा उनका समर्थकहरूले प्रदर्शन सुरु गरेका छन् ।

इमरान खानको पार्टीले जनतालाई घर छाड्न अपिल गरेको छ । हाल इमरान खान देशमा सबैभन्दा धेरै फलोअर भएका नेता हुन् ।

जनता सडकमा निस्कँदा कोलाहल अवश्य हुन्छ र यो कोलाहल कति हदसम्म जान्छ, केही भन्न सकिने अवस्था छैन । अदालत र सेनाको भूमिका भविष्यमा महत्वपूर्ण हुन सक्छ । इस्लामावाद हाईकोर्ट बाहिर इमरानलाई जसरी पक्राउ गरियो त्यसबाट अदालत खुसी छैन । अदालत आफ्नो अडानमा अडिग रह्यो भने पाकिस्तानमा फेरि नयाँ द्वन्द्व सृजना हुन सक्छ ।