काठमाडौं – संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीहरुलाई संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयनमा भइरहेको ढिलाई राजनीतिक दलको कमजोरीको संज्ञा दिएका छन् । चेक रिपब्लिकको राजधानी प्रागमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं युरोपेली सम्मेलनको उद्घाटनमा सम्बोधन गर्दै उनले भने,, “हामी आफैँले लेखेको संविधान कार्यान्वयन गर्न सकिरहेका छैनौँ, यो हाम्रो कमजोरी हो, तर गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल टुंगो लगाउने विषयमा हामी सबै राजनीतिक दल प्रतिबद्ध छौँ ।, हामी सबैको बोली एउटै छ र प्रतिबद्धता पनि एकै छ ।” गैरआवासीय नेपाली संघ आफैमा ठूलो अभियान भएको जिकिर गर्दै उहाँले भन्नुभयो, “सिंगो नेपाल र नेपालीसँग, देश बाहिर रहेका नेपालीलाई जोड्ने अभियानमा लागेका सबैलाई धन्यवाद दिन चाहान्छु, यो अभियान, यो आन्दोलन अझ सशक्त र एकजुट होस् भन्ने मेरो चाहाना हो ।” कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका सचेतक रमेश लेखकले गैरआवासीय नेपालीका मुद्दा सम्बोधनका लागि नेपालमा कुनै दलीय विमति नरहेको बताए ।
एकपटकको नेपाली सदैव नेपाली हुने भन्दै नेता लेखकले संविधानले परिकल्पना गरेको गैरआवासीय नेपालीको अधिकार प्राप्तीमा कुनै बाधा नहुने बताए । उनले भने, “तपाईहरुले एक पटकको नेपाल सधैंको नेपाली भन्नुभएको छ, यो कुराले सम्पूर्ण सार बोकेको छ, नागरिकताको सबाल पनि सम्बोधन हुन्छ, विभिन्न कारण नागरिकता विधेयक रोकिएको छ, तर अब त्यो अवस्थाको अन्त्य हुन्छ, नेपाली काग्रेस सरकारमा समाबेश भएको हैसियतले यो हाम्रो पनि जिम्मेवारी हो, यो नागरिकताको विधेयक अबको ६ महिनाभित्र टुंगिन्छ ।”
गैरआवासीय नेपालीहरुले देशलाई चिनाइरहेको भन्दै उनले भने, “तपाईहरुलाई देख्दा नेपाल देख्छ, नेपाल बुझ्छ, त्यसैले तपाईहरुप्रति हाम्रो सम्मान छ ।” राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिश झाले गैरआवासीय नेपालीहरुले नेपालमा राम्रो कुराको विकास गर्न हातेमालो गर्नुपर्नेमा जोड दिए । गैरआवासीय नेपालीहरुले एकताको सन्देश दिनुपर्ने उनले उल्लेख गरे । गैरआवासीय नेपालीको मुद्दा सम्बोधनका लागि आफूहरु पनि सकारात्मक भएको उनको भनाई थियो । कार्यक्रममा सम्बोधन गर्दै जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले कार्यक्रमको सफलताको कामना गर्दै गैरआवासीय नेपालीका माग छिट्टै नीतिगत रुपमा सम्बोधन हुने विश्वास व्यक्त गरे । वैदेशिक रोजगारीका लागि यूरोप गन्तव्य बनाउने क्रम बढीरहेको भन्दै उनले एनआरएन, नेपाल सरकार र कूटनीतिक नियोग तथा सरकारी निकाय मिलेर सम्भावित समस्या समाधान गर्न सकिने बताए ।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले सरकार र राजनीतिक दलहरुसँगको भेटमा आगामी ६ महिनाभित्र गैरआवासीय नेपाली नागरिकताको विषय टुंगिने आश्वासन पाएको स्मरण गराउँदै नागरिकताको विषय टुंगिनेमा ८० लाख गैरआवासीय नेपाली ढुक्क भएको बताए । कार्यकारी अध्यक्ष केसीले विधानतः अक्षरसः नयाँ कार्यसमिति चुनिने समेत जिकिर गरे । अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीका मुद्दा सम्बोधनका लागि सरकारले गम्भीर भएर अघि बढ्नुपर्ने बताए । गैरआवासीय नेपालीको हितका लागि सरकारले धेरै काम गरेकोप्रति धन्यवाद दिँदै उहाँले बाँकी रहेका मुद्दा सम्बोधनका लागि आग्रह गरे ।
शुक्रवारदेखि सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं युरोपेली सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा जारी छ । अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाल लगायत विश्वका ३५ भन्दा बढी मुलुकका ३ सय बढी प्रतिनिधिको सहभागीता रहेको छ । सम्मेलनको समापन समारोहमा नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । सम्मेलनमा संघका नियमित एजेण्डा लगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा घनिभूत छलफल हुनेछ । यस्तै सम्मेलनमा संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा समेत छलफल हुनेछ । सम्मेलनमा नेपाली कांग्रेसका सचेतक रमेश लेखक, नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सहभागी रहनुभएको छ । सम्मेलनको दोस्रो दिन, शनिवार राष्ट्रिय समितिको प्रतिवेदन, युवा र महिला सम्मेलन, मिलाप (एकता) एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रमोशन लगायतका विषयमा छलफल जारी छ । यस्तै सम्मेलनको तेस्रो दिन, आइतवार नेपालमा १० अर्व लगानी, नेपाली नागरिकताको निरन्तरता, भोटिङ राइट, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि ट्रान्फर लगायतका विषयमा छलफल हुनेछ । सम्मेलनको अन्त्यमा पराग घोषणपत्र जारी गरिनेछ ।