काठमाडौं जेठ, २१–
गएको जेठ १३ गते धनगढीमा आइएमईका कर्मचारीमाथि गोली प्रहार गरेर रकम लुटेर फरार दुईजना पक्राउ परेका छन् । रकम लुटेर फरार रहेका दुई जना काठमाडौँबाट पक्राउ परेका हुन् ।
सोमबार बिहान १ बजे काठमाडौँको गोङ्गबुबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनामा फरार रहेकाहरु काठमाडौँ आएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का २८ वर्षीय राम प्रवेश राना र कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ९ का २३ वर्षीय कालु राना ‘कल्लु’ रहेका छन् ।
आइएमईका कर्मचारी निर्मल कार्की सिद्धार्थ बैंकबाट पैसा झिकेर साइकल चढेर जाने क्रममा बाटोमा मोटरसाइकलमा चढेर आएका व्यक्तिहरुले गोली हानी घाइते बनाएर साढे ९ लाख रुपैयाँ लुटेर फरार भएका थिए ।
प्रहरीले त्यही दिन दुई जनालाई पक्राउ गरे पनि पछि उनीहरुलाई रिहा गरेको थियो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।