मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

आगलागीमा जलेर एक जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट

शुक्रबार, बैशाख ८ २०८०

काठमाडौं – गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउने क्रममा जलेर सोही ठाउँ बस्ने १३ वर्षीय दिपक मुखियाको मृत्यु भएको छ । बिहीबार राति लागेको उक्त आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घास हुँदै मिसन अस्पताल पाल्पामा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । साथै उक्त आगो निभाउने क्रममा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५५ वर्षीय धन बहादुर जोगी कुँवरलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

उदयपुरको लिमचुङबुङ गाउँपालिका–४ बलम्ता बस्ने नेम कुमार राईको घर र मतानमा बिहीबार दिउँसो आगलागी हुँदा घर र मतान पूर्णरूपमा जलेर करिब ५ लाख ७४ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्युठानको माण्डवी गाउँपालिका–४ दक्सिनेस्थित धनचौर सामुदायिक जंगलमा बिहीबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित २ वटा घर र २ वटा गोठ जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–५ सिसहवा गाउँमा बिहीबार दिउँसो आगलागी हुँदा ७ वटा कच्ची घर, ११ वटा कच्ची गोठ, ५ वटा भान्सा घर तथा २ वटा पक्की घरमा रहेको काठपातसमेत जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । पाल्पाको रम्भा गाउँपालिका–३ जोगुवास्थित जंगलमा बिहीबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने मान बहादुर सार्कीको कच्ची गोठ पूर्णरुपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी पाल्पाको तानसेन नगरपालिका–५ सेतिपोखरीस्थित जंगलमा बिहीबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित तानसेन नगरपालिका–१२ बौघागुम्हा बस्ने सनम रानाको श्री लाङघाली फर्निचरमासमेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । स्याङजाको चापाकोट नगरपालिका–१० स्थित कटरे जंगलमा बिहीबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ५२ वर्षीय विष्णु प्रसाद भट्टराईको कच्ची घरमासमेत आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

यसैगरी स्याङजाको वालिङ नगपालिका–१४ डाँडाखर्कस्थित छब्बिसे राईस मिल र छब्बिसे फर्निचरमा शुक्रबार बिहान आगलागी हुँदा राईस मिल र फर्निचर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–४ ओखलढुंगास्थित जलेउ सामुदायिक जंगलमा बिहीबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने मान बहादुर सारु र मधु सारुको कच्ची घर तथा गोठ र भोजराज आचार्यको कच्ची गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । झापाको गौरादह नगरपालिका–४ मिया टोल बस्ने कृष्ण प्रसाद ढुङगेलको घरमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दाङको घोराही उपमहानगरपालिका–५ स्कुलडाँडास्थित गोपाल नेपालीको बाख्रा फर्ममा बिहीबार साँझ आगलागी हुँदा फर्म, फर्ममा रहेको दाना, घासकाट्ने मेसिनसमेत गरी करिब १२ लाख रूपैयाँ बराबराको धनमाल जलेर नष्ट भएको छ । सर्लाहीको रामनगर गाउँपालिका–२ धुर्वा बस्ने अमिचन राय यादवको घरमा बिहीबार साँझ आगलागी हुँदा उक्त आगो फैलिएर अमिचन राय यादव समेत ३ जनाको ३ वटा घर पूर्णरूपमा जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ स्थित टहरामा सिन्धुपाल्चोक घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी डेरा गरी बस्ने अर्जुन गिरीको अर्जुन सुलभ हार्डवयरमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी भएको छ । आगलागीबाट हार्डवयरका सामानहरू जलेर नष्ट भएका छन् ।
ओखलढुंगाको लिखु गाउँपालिका–१ चिउरिडाँडास्थित पहेले सामुदायिक वनमा बिहीबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने बेद बहादुर खड्का र प्रेम कुमारी बिकको घर जलेर करिब ३ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।