बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गोरखा–जितगढी पदयात्रा सम्पन्न 

शुक्रबार, बैशाख ८ २०८०

काठमाडौैं – नेपालको ऐतिहासिक सम्पदाहरु तथा घटनाक्रमको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ मिति २०७९ चैत्र २९ गते शुरु भएको गोरखा–जितगढी पदयात्रा बैशाख ०७ गते बुटवलस्थित जितगढीमा पुगेर समापन भएको छ । पदयात्रामा सहभागी टोलीलाई समारोह स्थलमा भव्य स्वागत गरिएको छ ।
गोरखा दरबारबाट शुरु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका पाँच वटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरु तथा जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा गरेका थिए ।

लुम्बिनी प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठको प्रमुख आतिथ्य एवं बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा संचालन भएको समापन समारोहमा मध्य पश्चिम पृतनापति उपरथी याम प्रसाद ढकाल, श्री नं. २२ बाहिनीपति, स्थानीय जनप्रतिनिधिहरु, बुद्धिजिवी, जिल्लास्थित सरकारी निकायका प्रमुख तथा पदाधिकारीहरु, संचारकर्मी लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो । पदयात्रा समापन तथा जितगढी विजय उत्सव समारोहमा श्री मध्य पश्चिम पृतनापति र बुटवल उपमहानगरपालिका प्रमुखले नेपाल–अंग्रेज युद्धका बेला जितगढीको लडाइमा विजयी फौजको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापाको शालिक अगाडी दीप प्रज्वलन गरी माल्यार्पण गर्नु भएको थियो । समापन समारोहमा स्थानीय झाँकी लगायत विविध कार्यक्रमहरु संचालन गरिएको थियो ।

गोरखा दरबारदेखि जितगढीसम्म करिब २०७ कि.मि. दुरीमा सञ्चायलित पदयात्रा नवौं दिनमा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर समापन भएको हो । यस प्रकारको कार्यक्रमले नेपालको ऐतिहासिक धरोहरहरुको पहिचान‚ संरक्षण‚ सम्बर्धन र प्रवर्द्धन हुनुका साथै राष्ट्रिय एकता, सैनिक ईतिहास एवं पर्यटन प्रबर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।