काठमाडौंं । अहिले प्रविधिमय जीवन छ । कसैलाई केही भन्नु छ वा सन्देश पु¥याउनु छ भने सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँगाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’ को कथामा चलचित्र बनेको छ ।
कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिए । चलचित्रले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रले वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गर्ने बताए ।
“हामीले हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरेका छौँ । योसँगै गाउँको परिस्थिति, सामाजिक सचेतना पनि समेटेका छौँ । वैदेशिक रोजगारीमा रहेकाले यसलाई नजिकबाट महसुस गर्नु हुनेछ”, निर्देशक सापकोटाले भने । उनले नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनीे आफ्नो चलचित्रलाई पूर्णरूपमा व्यावसायिक भन्न रूचाउँछन्। यद्यपि ‘हल्कारा’ लाई कालोपोथी, सेतो सूर्य, ऐना झ्यालको पुतलीको श्रेणीमा बुझिएको छ । निर्देशक सापकोटा श्रेणीगत भिन्नतामा सहमतछन् ।
“नेपालमा व्यावसायिक चलचित्रको परिभाषा फेरिएको छ । मनोरञ्जन जसरी पनि लिन सकिन्छ । एउटा गीत, एउटा द्वन्द्व र हास्य दृश्यलाई मात्र मूलधारको चलचित्र भनेर व्याख्या गरिनु सही होइन”, निर्देशक सापकोटाले भने, “मेरो चलचित्रमा ठूला दृश्य, चलचित्र भवनमा अनुभव गरिने ध्वनि छन् । यसले दिने मनोरञ्जनको शैली भने फरक हुन सक्छ ।”
चलचित्रमा शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठीले निर्वाह गरेका छन् । हुलाकीलाई बाल्यकालमा देख्नुभएका अभिनेता त्रिपाठीलाई चरित्र निर्माण गर्न निर्देशक सापकोटाले पटकथामा तयार पार्नुभएको पात्रले सहज बनायो । “निर्देशकले दिनुभएको पटकथाले मेरो बाल्यकालको स्मृतिलाई ताजा बनायो । हुलाकीसँग जोडिएको सन्दर्भ सम्झेँ । आफ्नो पात्रलाई पढेपछि बाध्यता र स्थितिलाई महसुस गरेँ”, अभिनेता त्रिपाठीले भने, “यो पात्रले आफ्नो अव्यक्त चाहना, सामाजिक दायित्व र आर्थिक पाटोलाई सबल बनाउन सङ्घर्ष गरिरहेको छ । हल्काराको आँखाबाट त्यो समय, परिस्थितिलाई सहजै देख्न र महसुस गर्न सकिन्छ ।”
चलचित्रमा हल्काराको श्रीमतीको भूमिका विनिता थापामगरले निर्वाह गरेकी छन्। रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा आएकी अभिनेत्री थापामगरले अडिसन दिएर पात्रलाई प्राप्त गरेकी थिइन् । “यो पात्रलाई मैले आफ्नो कलाकारिताको अनुभवलाई मिसाएर पूर्ण गरेकी छु । उसको पनि आफ्नै चाहना छ । केही सामाजिक प्रभाव पनि हुन सक्छ”, अभिनेत्री थापामगरले भनिन्, “यसमा अभिनेत्रीको परिभाषालाई पछ्याइएको छैन । उसको सुन्दरता अनुहारमा नभई पात्रको विभिन्न आयाममा झल्किन्छ । पात्र बाँचेकी छु ।”
चलचित्रमा उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारले अभिनय गर्नुभएको छ । यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल छन् । चिन्तन राजभण्डारी छायाँकार रहनुभएको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । वैशाख २९ गते प्रदर्शन तय गरिएको चलचित्रलाई जीजीए समूहअन्तर्गत रहेर करण श्रेष्ठले वितरण गर्दैछन् ।