काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनको बैठकमा बुधबार खाएको खाजाको तस्बिर ट्वीट गरे। अलिक पर रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केही खाएका थिएनन् भने एक मुठी मकै र दुई गिलास मोहीको तस्बिरसहित सामाजिक सञ्जालमा बाबुराम ‘बालुवाटारको खाजा’ भन्दै प्रकट भएका थिए। सामाजिक सञ्जालमा यसका पक्ष र विपक्षमा निक्कै बहस पनि भए। तर, खासमा प्रधानमन्त्रीको सरकारी निवासमा हुने बैठकमा यस्ता सस्ता खाजा खाइन्छन्? यो प्रश्नभित्र आम व्यक्तिको चासो हुनु अस्वभाविक होइन।
‘प्रधानमन्त्रीले खाजा खाना र अतिथि सत्कारमा मात्रै बार्षिक करोडौं खर्च गरेका विवरण आउँछन्, यो एउटा देखाउने तरिकाभन्दा केही पनि होइन’, पूर्वप्रधानमन्त्रीका एक सल्लाहकार भन्छन्,‘त्यहाँ त खानाको बफे लाग्छ। यो खाली देखाउने कुरा भयो, चिप कुरा हो।’ त्यसो त जुन बेला बाबुराम प्रधानमन्त्री निर्वाचित हुने समय थियो, मधेसवादी दलसँगको बैठकमा ह्विस्कि र वियर बैठकको तस्बिर सार्वजनिक भएको थियो। त्यसको व्यापक आलोचना भयो।
‘माओवादी नेताहरू त अहिले नयाँ सामन्तका रुपमा उदय भएका छन्। उनीहरूका पालामा नै मन्त्रालयमा होस् वा बालुवाटारमा धेरै खर्च हुने गरेको छ’, उच्च स्रोतले भन्यो,‘अहिले मोही र मकै भटमास खाएको तस्बिर देखाएर बाबुरामले प्रचण्डको प्रशंशा गर्न खोजेका हुन् तर त्यो ढोंगी कथा मात्र हो।’ यसै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खाने लाउने कुरामा ब्रान्डका ब्रान्ड मात्र रोजिरहने तथ्य कतै लुकेको छैन।
पहिलो पटक प्रधानमन्त्री बन्दा डेढ लाखको पलङमा सुतेको देखि उनले लगाउने ट्रयाकसुट, चढ्ने गाडी, लिएको सुरक्षा, बोक्ने मोबाइल, लगाउने घडी नै ब्रान्डेड हुने गर्छन्। बालुवाटारमा सुरक्षा गरेर बसेका एक पूर्वप्रहरी अधिकारी भन्छन्,‘त्यहाँ असाधाराण खाजा खाइन्छ। यसका लागि सरकारी सुविधा हुन सक्ला, नीतिगत तहमा नै खर्च गरिएको होला तर मकैभटमास त खाइँन्न।’ जता जता प्रचण्ड उतै उतै लम्किएका बाबुरामले राजनीतिलाई सुरक्षित गर्नका लागि यस्तो सामाजिक सञ्जालीय प्रस्तुती गरेर बालुवाटारको नकारात्मक चर्चा रोक्न खोजे पनि जनताले कति प्रतिशत पत्याउलान्? त्योचाहिँ हेर्न बाँकी छ।