नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्का महसुश भएको छ भने पाकिस्तानमा पहिरो गएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पको धक्का राजधानी नयाँ दिल्लीमा पनि महशुश गरिएको हो ।
भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १०ः१७ मिनेटमा भूकम्पको झड्का महसुश भएको थियो।
भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ता खटाउन लागिएको समाचारमा जनाइएको छ।
उत्ता अर्को छिमेकी देश पाकिस्तानमा भने पहिरो गएको समाचार प्राप्त भएको छ । पाकिस्तानी समाचार संस्थाहरुको अनुसार भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।
मुख्यतः भूकम्पपछि त्यस क्षेत्रमा पहिरो जाँदा बढी क्षति भएको हुन पुगेको छ ।
स्वात उपत्यकामा रहेका अस्पतालमा ठूलो संख्यामा घाइतेहरु भर्ना भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
यद्यपी, सो भूकम्पमा परी ५ जनाको मृत्यु भएको जनाइएको छ ।
भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीदेखि चीन, ताजकिस्तान, उजवेकिस्तान, किर्गिस्तानलगायतका मुलुकमा महसुश भएको छ ।