काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न अहिलेको सरकार पूणरुपमा असफल भएको आरोप लगाएका छन् ।
आज (शुक्रबार) काठमाडौंमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले खुलेआम राष्ट्रविरोधी र देशद्रोही कुरा गरेर हिंडिरहँदा पनि सरकारले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न नसकेको बताएका हुन् ।
उनले देशलाई नै विदेशीसामु बुझाउनु पर्ने अभिव्यक्ति दिएर एक हुल मान्छे हिँड्दा समेत सरकारले कानमा तेल हालेर बसेको आरोप लगाए । देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर हिँड्नेलाई तत्काल नियन्त्रणमा लिनुपर्ने भन्दै ओलीले मुलुकविरोधी अभियान जारी रहे जनताले प्रतिवाद गर्ने चेतावनी दिए ।
उनले एमालेले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र, सामाजिक र राजनीतिक अवस्था तहसनहस भएको पनि बताएका छन् । अहिले ऊर्जा व्यापार भन्दा पनि स्वदेशमा नै अत्यधिक खपतमा ध्यान दिनुपर्नेमा ओलीको जोड छ ।