काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भएको खेलमा यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १० रनको योगफल तयार पार्यो ।
यूएईका आसिफ खानले बिष्फोटक शतक प्रहार गर्दै अविजित रहे । उनले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा १०१ रन बनाएका थिए । भृत्य अर्विन्ददे १ सय ३८ बलमा २ छक्का र ८ चौकाको मद्दतमा ९४ रन बनाएर आउट भए । रोहन मुस्तफाले २० रन बनाए भने कप्तान मोहमद वासिमले ६३ रनमा आउट भए । उनले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरे । उनलाई सन्दीप लामिछानेले एलबीडब्लू आउट गराएका थिए ।
नेपालले केही बेरमा ब्याटिङ गर्नेछ ।
लिग–२ को अन्तिम श्रृंखलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ। आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ।
यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ।
नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ। जसमा समान छ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ।