काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दुई घण्टा अघि नै खेल परिसरमा दर्शकको भिड बढेको छ ।
त्रिविको खेल मैदानमा बिहान देखी दर्शक पुग्न सुरु गरेका छन् । बिहान ७ः४५ सम्म टियुको दर्शक छिर्ने गेट खुलाईए पछि खेल मैदानमा पुरै भिड लागेको छ ।
क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण टिकट खेल मैदानमा बेचिएको छैन । खेल बिहान ९ः ३० बाट सुरु हुनेछ।
युएई विरूद्धको खेल जितेमा नेपाल विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लँदै तीन महिनापछि ९ जुनमा जुलाई जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल क्वालिफायर मा सोझै छनोट हुनेछ।
पाँच वर्ष अगाडि एकदिवसीय मान्यता पाएयता नेपालका लागि यो सबैभन्दा ठूलो सफलतासमेत हुनेछ। एक महिना अगाडिसम्म एकदिवसीय अन्तर्राष्ट्रियु राष्ट्रको मान्यता जोगाउनसमेत मुस्किल रहेको नेपाल शीर्ष तीनमा रहेर टेष्ट राष्ट्र सम्मिलित विश्वकप क्वालिफायरमा छनोट हुन एक कदम पछि छ।
कुल ७ टिम सम्मिलित प्रतियोगितामा नेपाल चौथो स्थानमा छ। ३५ खेल खेलेको नेपालले १८ मा जित र १५ मा हारसहित ३८ अंक जोडेको छ। नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ। यदि नेपाल विजयी भएमा ४० अंक हुनेछ। तर कुनै कारण खेल नतिजाविहीन हुँदै अंक बाँड्नुपर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ। नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ।
वर्षा वा कुनै कारण खेलको नतिजा नआए पनि नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपालले गुमाउँदा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ। त्यसैले नामिबियालाई उछिनेर तेस्रो स्थानमा उक्लँदै ग्लोबल छनोटमा प्रवेश पाउन नेपाललाई युएईविरूद्ध निश्चित जित आवश्यक पर्नेछ।यदि युएईसँग पराजित भएमा भने नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने एसोसियट राष्ट्रहरू सम्मिलित ‘क्वालिफायर प्लेअफ’ खेल्नुपर्ने हुन्छ। यता युएईलाई भने अब विश्वकप छनोट खेल्न प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा पर्नुपर्ने हुन्छ। ओडिआई मान्यता जोगाउन क्यानडा र जर्सीलाई पछि पार्नुपर्ने हुन्छ।